मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार राति इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौंतर्फ जाँदै गरेको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त टोलीले राति ८:४५ बजे रोकेर जाँच गरेको थियो।
प्रहरीका अनुसार, गाडीमाथि शंका लागेर खानतलासी गर्दा गाडीभित्र विभिन्न भागमा फल्स बटम बनाएर चलाखीपूर्वक लुकाइछिपाइ ल्याइएको अवस्थामा लागुऔषध फेला परेको हो।
प्रहरीले गाडीबाट डाईजेपाम २२२६ एम्पुल, नुर्फिन २३५६ एम्पुल र प्रोमेथाईजिन हाईड्रोक्लोराईड १८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल बरामद गरेको छ। साथै, ४९ ट्याबलेट ट्रामाडोल पनि फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मोतीहारी, सुगौलीका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्।
प्रहरीले लागुऔषध र स्कारपियो गाडी बरामद गरी पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८२ १६:२१ आइतबार