नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेको बताएका छन्।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा रहेका खनालले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताए।
“अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ। हरेक सानाठूला पार्टीमा र जेनजी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ। यसले गर्दा सबैको माग पुनर्गठन र रुपान्तरणको हो”, उनले लेखेनका छन्, “यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो।”
अहिले आफ्नो दल एकीकृत समाजवादीले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्ने नहुने नेता खनालले धारणा राखे। “यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन। हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं”, उहाँले भन्नुभयो। नेकपा (माओवादी केन्द्र) सँग एकीकरणका चर्चाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ। नवौंँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँ पार्टीभित्रका युवाको आवाजअनुरुप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखे। सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत राष्ट्रिय मोर्चाको निर्माणमार्फत् प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको विचार छ।
प्रकाशित: २६ आश्विन २०८२ १६:१८ आइतबार