राजनीति

विपद्‌मा उद्धार र राहत तीव्र बनाउन सरकार समक्ष पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी-पहिरोबाट प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई समन्वयात्मक र व्यवस्थित रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले उच्च जोखिममा रहेका बस्ती तथा परिवारको तत्काल पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की र पर्वतलगायतका जिल्लामा बाढी, पहिरो तथा डुबानले ठूलो जनधनको क्षति पुर्‍याएकोमा उनले दुःख व्यक्त गरिन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।

बाढी, पहिरो र नदी कटानको जोखिम अझै कायमै रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो मौसमलाई ध्यानमा राखी पूर्वतयारी र सतर्कता अपनाउन जोड दिएकी छन्।

उनले सम्भावित जोखिमबाट बच्न मौसमसम्बन्धी पूर्वसूचनाप्रति चनाखो रहन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न र नदी किनारबाट टाढा रहन आमनागरिकलाई अपिल गरिन्।

विपद् व्यवस्थापनमा साझा हातेमालोको आवश्यकता औँल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्वतयारी, सतर्कता र प्रभावकारी उद्धारबाट मानवीय क्षति धेरै हदसम्म घटाउन सकिन्छ। यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आमनागरिक सबैको बलियो सहकार्य आवश्यक छ।’

प्रकाशित: ३० श्रावण २०८३ २०:२२ शनिबार