पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनपछिका घट्नाक्रम बारे आफू निकटका नेता कार्यकर्तासँग छलफल थालेकी छन् । भदौ २३ गते आन्दोलनमा बल प्रयोग भएपछि उत्पन्न राजनीतिक परिस्थिति र राजनीतिक दलको औचित्यको बारेमा पूर्वराष्ट्रपति छलफलमा जुटेकी हुन् ।
‘तत्कालिन सरकारले गरेको दमनको छानबिन हुनुपर्छ। जेन-जीले गरेको आन्दोलन शान्तिपूर्ण हुँदाहुँदै कसले कहाँबाट तोडफोड गरेको त्यसको निष्पक्ष अनुसन्धान, छानबिन हुनुपर्छ । सरकारले कलिला निर्दोष किशोरलाई गोली चलाएर समूहलाई किन उत्तेजित पारेको हो ? जसले घट्नास्थलमै १९ जनाको निधन भयो । सयौ जना घाइते भए । त्यसको उचित छानबिनन गरी दोषीमाथि कारवाही हुनुपर्छ,’ भण्डारीलाई उदृत गर्दै एक नेताले भने ।
‘लोकतान्त्रिक व्यवस्था र मूल्य मान्यतामा अहिले पनि जेन-जीको जुन पुस्ता छ त्यसमा अडिग रहेको मैले पाएको छु, व्यवस्थामाथि प्रश्न उठाउनेगरी घुसपैठ भयो, निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्यो । यसको विषयमा अन्तरिक सरकारले छानबिन गरोस्,’ पूर्वराष्ट्रपति भण्डारीको भनाई उदृत गर्दै एक नेताले भने ।
आज भण्डारीसँग भेटघाट गरेर फर्केका ती नेताले भण्डारीको भनाई उद्यृत गर्दै भने, ‘मुलुकका सबै राजनीतिक दलको नेतृत्वमाथि प्रश्न उठेको मात्र होइन अस्वीकार नै गरिसकेको छ । यस्तो बेलामा पार्टीका अन्य नेताहरुले अग्रसरता लिनु नै उपयुक्त हुनेछ ।’
एमाले केन्द्रीय सदस्य रमेश पौडेल, रामजी सापकोटा, जीवछ साह, अखिलका पूर्वनेतालगायतको टोलीसँग पूर्वराष्ट्रपतिले छलफल गरेकी थिइन ।
भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले तत्कालिन सरकारमा रहेका नेताले माफी नमाग्नु र आफूहरुको कुनै गल्ती नभएको जसरी रहनुले पनि तत्कालिन सरकारमा रहेका दलको अवस्था झन कमजोर बनाएको जिकिर गरिन । ‘यतिधेरै जनधनको क्षति भएको छ, सरकारमा जो जो हुनुहुन्छ उहाँहरुले यो विषय घुसपैठ वा अरु भयो भन्ने मात्रै होइन आफूले आन्दोलनलाई नियन्त्रण भन्दा बाहिर जान नदिन के गर्यौँ भन्ने बारेमा केही बताएका छैनन । एक पटक माफीसमेत मागेका छैनन भने यस्तो नेतृत्वबाट जनताले के अपेक्षा गर्ने ?’, भण्डारीको भनाई उदृत गर्दै ती नेताले भने ।
प्रकाशित: ९ आश्विन २०८२ १६:३० बिहीबार