सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले आफ्नै किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्। पाँच वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका भट्टको वर्तमान जीवनशैलीले राजनीतिमा इमानदारी र सादगीको एउटा फरक उदाहरण प्रस्तुत गरेको छ।
गरिब परिवारमा हुर्किएका भट्टले आर्थिक अभावका कारण कक्षा ८ भन्दा माथि अध्ययन गर्न पाएनन्। रोजगारीका लागि भारतसमेत पुगेका उनले मजदुरी गरेर जीवन बिताए। समयक्रमसँगै राजनीतिमा सक्रिय हुँदै उनी सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्री बन्न सफल भए।
पाँच वर्षको कार्यकाल पूरा गरेपछि भने उनले राजनीतिलाई व्यक्तिगत आम्दानीको माध्यम बनाउनुको सट्टा आफ्नै श्रममा निर्भर हुने बाटो रोजेका छन्। अहिले उनी धनगढीमा आफ्नै पसलमा बसेर नुन, तेल, अण्डालगायत दैनिक उपभोग्य सामग्री बिक्री गर्छन्।
नागरिकसँगको कुराकानीमा उनले भने, 'मैले मार्ट सञ्चालन गरेको एक वर्ष भयो । मुख्यमन्त्रीको कार्यकाल सकिएपछि के गरौं भन्ने द्विविधामा थिए। धेरै विकल्पबारे कुरा भएपछि केही रकम जोहो गरेर धनगढीमा मार्ट सञ्चालन गरेकाे हुँ।'
कुनै समय सरकारी गाडी, सुरक्षा र महत्वपूर्ण निर्णयको केन्द्रमा रहेका भट्ट आज सामान्य व्यवसायीझैँ आफ्नै पसलमा ग्राहकसँग प्रत्यक्ष कारोबार गरिरहेका छन्। पूर्वमुख्यमन्त्री हुँ भन्ने कुनै अहंकार वा तडकभडक उनको जीवनशैलीमा देखिँदैन।
भट्टले खेतीपाती गर्ने सोचसमेत बनाएका थिए। तर मुख्यमन्त्रीको पाँचवर्षे कार्यकालपछि त्यसका लागि पर्याप्त लगानी जुटाउन नसकेपछि सीमित लगानीमा किराना पसल सञ्चालन गरेको बताइएको छ।
राजनीतिबाट व्यक्तिगत सम्पत्ति जोड्ने प्रवृत्तिबीच भट्टको वर्तमान जीवनले एउटा प्रश्न भने उठाउँछ—राजनीति पद र सम्पत्ति कमाउने माध्यम हो कि निश्चित समय जनताको सेवा गर्ने जिम्मेवारी?
राजनीतिमा सादगी र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरिरहेका भट्टको जीवनबाट अन्य राजनीतिकर्मीले पनि सिक्न सके राजनीतिप्रतिको जनविश्वास अझ बलियो बन्न सक्छ।
प्रकाशित: २१ भाद्र २०८३ १६:४४ आइतबार