नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको मूल विचार र रणनीति बिर्सेर सत्ता बनाउने र ढाल्ने खेलमा मात्रै केन्द्रित हुनु गम्भीर भूल भएको बताएका छन्।
आफ्नो वर्ग र आधारभूत रणनीतिलाई नजरअन्दाज गर्दा पछिल्लो समय पार्टी असफल भएको उनको स्वीकारोक्ति छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पार्टी कार्यनीतिको चक्रव्यूहमा फसेको बताए। ‘हामी बढी कार्यनीतिमा अल्झियौं, सत्ता समीकरण बनाउने र भत्काउने खेल नै हाम्रो कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ उनले भने।
विगतको जनयुद्ध सम्झँदै उनले थपे, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो, त्यसकै आधारमा कार्यनीति बनाएर अघि बढ्दा हामी सफल भयौं। तर, अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा हामी चक्करमा फस्यौं।’
जनतासँगको सम्बन्ध टुट्नु नै पार्टीको मुख्य कमजोरी भएको प्रचण्डको भनाइ थियो। ‘किताबमा लेखे पनि र भाषणमा बोले पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर बन्दै गयो, यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले आत्मसमीक्षा गरे।
आफूहरू सत्ताको खेलमा अल्झिँदा विपक्षी शक्तिहरू भने कम्युनिस्ट आन्दोलनलाई सिध्याउने रणनीतिमा लागेको उनको दाबी थियो। प्रचण्डले भने, ‘हाम्रो बैरी भने कार्यनीति छाडेर नेपालबाट कम्युनिस्टलाई कसरी सखाप पार्ने भन्ने रणनीतिमा केन्द्रित भयो।’
प्रकाशित: ७ भाद्र २०८३ १५:१० आइतबार