नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले विदेशी शक्तिहरुले नेपाललाई द्वन्द्वको भुमरीमा फसाउन खोजेको भन्दै कम्युनिस्टहरु देशभक्तिको बलियो संवाहक बन्नुपर्ने बताएका छन्।
आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्न कम्युनिस्ट एकता र राष्ट्रिय शक्तिहरुबीचको सहकार्यमा जोड दिए।
सह-संयोजक नेपालले विदेशीहरुले देशमा हालिमुहाली चलाउन खोजेको र छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन लागेको भन्दै सतर्कता अपनाउनुपर्ने बताए।
‘विदेशी शक्तिहरुले जसरी आँखा लगाएका छन्, त्यसले यो देश द्वन्द्वको ठूलो भुमरीमा पर्न बेर छैन,’ उनले भने, ‘छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाऔं, यसमा हामीले बहुत सतर्क हुनुपर्छ। वर्तमान सरकारको यस सम्बन्धमा रवैया सन्देहास्पद छ।’
कम्युनिस्ट पार्टीहरुबीचको एकता भावनात्मक कुराले मात्र नहुने भन्दै उनले यथार्थको धरातलमा टेकेर अघि बढ्नुपर्ने बताए। जननेता मदन भण्डारीको भनाइ स्मरण गर्दै नेता नेपालले भने, ‘मदन भण्डारी भन्नुहुन्थ्यो, कुराले चिउरा भिज्नेवाला छैन। त्यसका लागि कि पानी चाहिन्छ, कि दुधै चाहिन्छ।’
उनले नेपालका सबै कम्युनिस्ट घटकहरुले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्ने र सही निष्कर्षमा पुगेपछि मात्र सबैलाई एक ठाउँमा ल्याउन सकिने बताए।
लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि कम्युनिस्टहरुले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ। जनताको अधिकारमाथि कुठाराघात गर्ने अनेकौं कोसिस भइरहेको भन्दै उनले त्यस्ता षड्यन्त्रविरुद्ध सचेत रहन आग्रह गरे।
मार्क्सवाद र लेनिनवादप्रति प्रतिबद्ध भएको नाताले कम्युनिस्टहरुले समाजको आमूल परिवर्तनको सोच राख्दै जनताको पीडा र मर्कालाई सम्बोधन गर्नुपर्ने उनले बताए।
ससह-संयोजक नेपालले संसद, सडक र जनताको घरदैलोमा कम्युनिस्टहरुको उपस्थिति कति प्रभावकारी छ भनेर आफैंलाई प्रश्न गर्नुपर्ने बेला आएको बताए। ‘संसदमा कति आवाज उठाइरहेका छौं ? सडकमा कति पुग्न सकेका छौं ?,’ उनले भने, ‘यो आत्मक केन्द्रित चिन्तन र स्वार्थी मनोविज्ञानलाई जबसम्म हामी त्याग्दैनौं, तबसम्म हाम्रा कुराहरु कपोलकल्पित गफ बाहेक अरु केही हुँदैनन्।’
चुनौती देखेर खुट्टा कमाउने र मैदान छोडेर भाग्ने प्रवृत्ति विगतदेखि नै देखिएको भन्दै उनले दृढताका साथ चुनौतीहरुको सामना गर्न कार्यकर्तालाई निर्देशित गरे।
जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा नेता नेपालले भण्डारीले कम्युनिस्ट आन्दोलनमा खेलेको अतुलनीय भूमिकाको उच्च प्रशंसा गरे।
समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको वर्तमान अवस्थामा नेपाली समाजलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन छलफलको आवश्यकता रहेको उनले औंल्याए।
प्रकाशित: १४ असार २०८३ १५:४१ आइतबार