परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।
गत शुक्रबार औपचारिक भ्रमणका लागि नयाँ दिल्ली गएका मन्त्री खनाल आइतबार काठमाडौं आइपुगेका हुन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय उच्च अधिकारीहरूसँग राजनीतिक भेटघाट गरेका थिए। शुक्रबार नयाँ दिल्ली पुगेकै दिन उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।
सोही दिन भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि मन्त्री खनालसँग शिष्टाचार भेट गरेका थिए।
भ्रमणको मुख्य कार्यक्रम अन्तर्गत शनिबार परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच औपचारिक वार्ता भएको थियो।
नयाँ दिल्लीमा भएको उक्त भेटमा नेपाल–भारत द्विपक्षीय हित र आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ।
मन्त्री खनालको यस भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने शिष्टाचार भेटवार्ता हुन सकेन। प्रधानमन्त्री मोदीको कार्यव्यस्तताका कारण भेटवार्ताको समय नजुरेको स्रोतले जानकारी दिएको छ।
प्रकाशित: २४ जेष्ठ २०८३ १९:१४ आइतबार