सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।
अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ। बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।
बिहान १०ः०० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। बिहान ११ः०० बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदैछ।
पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ। बिहान ११ः०० बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ।
प्रकाशित: २८ श्रावण २०८३ ०६:०६ बिहीबार