सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
बैठकले बीउबिजन पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
त्यस्तैगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारीसहित कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू नेपाल सरकारको निर्णयबमोजिम गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रकाशित: ३० असार २०८३ १७:४१ मंगलबार