संघीय संसद्को पहिलो अधिवेशन आज (बिहीबार)बाट सुरु भएको छ। गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको हो।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आह्वान गरेका थिए।आजको बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नै मुख्य बहसको विषय बनेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आन्दोलनसँग जोडिएका विषयमा आफ्नो धारणा राखेका थिए।
नेकपा एमालेका सांसद्ले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउबारे आपत्ति जनाउँदै रिहाईको माग गरेका थिए। त्यसलगत्तै सम्बोधनको क्रममा सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनबारे संक्षिप्त टिप्पणी गर्दै तत्कालिन प्रधानमन्त्री र गृहमन्त्री पक्राउ पर्नु कुनै प्रतिशोध नभएको जवाफ दिएका थिए। उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गर्दै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताए।
नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ गतेका घटनालाई निष्पक्ष रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउँदै एकतर्फी विश्लेषणको आलोचना गरे। उनले जाँचबुझ आयोगले २३ गतेको घटना मात्रै हेरेर २४ गतेको अनुसन्धान नगरेको भन्दै प्रश्न उठाए। साथै, गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।
एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २४ गते भएको आगजनी र तोडफोडको उद्देश्यबारे सरकारसँग स्पष्ट जवाफ मागे। उनले सिंहदरबार, संसद् भवन लगायतका संरचना जलाइनुको कारण खोज्नुपर्ने बताए। उनले रास्वपाको निर्वाचन जितमा बाह्य तथा अदृश्य शक्तिको भूमिका रहेको आरोपसमेत लगाए।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले भने जेनजी आन्दोलनलाई युवाहरूको असन्तुष्टिको अभिव्यक्तिको रूपमा लिनुपर्ने धारणा राखे। उनले उक्त असन्तुष्टि स्वीकार गर्दै निर्वाचनमार्फत जनमत आएको बताए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गरे। उनले विद्यालय पोशाकमै बालबालिकालाई आन्दोलनमा उतारिएको र सार्वजनिक संरचनामा आगजनी गरिएको विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको टिप्पणी गरे।
प्रकाशित: १९ चैत्र २०८२ १९:३३ बिहीबार