प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ।
कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।
यसअघि सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण बुधबारका लागि सारिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सरकारले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाएको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गरेका छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।
प्रकाशित: २ मंसिर २०८३ १०:०७ बुधबार