जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाइँ अन्त्य भइसकेको बताएका छन्।
सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको केन्द्रीय कमिटीको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत भण्डारीले कानुनी उपचारमा जाने वा राजनीतिक लडाइँको उद्घोष गर्ने आँकलन भइरहँदा बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानुनी लडाइँ अन्त्य भइसकेको दाबी गरेका हुन्।
बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले राजनीतिक निर्णय गरिसकेको छ। अब भण्डारी तत्काल एमालेको राजनीतिमा फर्कने कुनै सम्भावना रहेन। जहाँसम्म यसबारे उनले कानुनी उपचारको बाटो खोज्ने कुरा छ। एमालेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय राजनीतिक मात्र हैन यो पूर्णतः कानुनी निर्णय पनि हो। यसउपर कहीँ कतै पुनरावेदन गर्ने ठाउँ हुँदैन।’
आगामी एमालेको केन्द्रीय समिति वा महाधिवेशनबाट विद्याबारे निर्णय गर्न सकिने सम्भावना पनि भण्डारीका पछिल्ला गतिविधिले टर्दै गएको बस्नेत बताउँछन्। बस्नेत विद्याको सक्रिय राजनीतिबारे अब एमालेको बैठकको एजेण्डासमेत बन्ने सम्भावना देख्दैनन्।
सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानीबुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकूवा छ।
विद्या भण्डारीले पत्रकार सम्मेलन गरेर पोख्ने गुनासो र देखाउने घुर्कीेले केही पार नलाग्ने उनको भनाइ छ।
प्रकाशित: ९ श्रावण २०८२ ०९:०९ शुक्रबार