अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने भएका छन्। वाग्लेले आज साँझ ५ बजे जयशंकरसँग भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ।
उनी आज बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै, साँझ ७ः३० बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।
बिहीबारदेखि तीनदिने भारत भ्रमणमा रहेका वाग्लेले विपद्पछिको पुनर्निर्माणसँगै नेपाल र भारतबिचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल गरिरहेका छन्।
यसअघि बिहीबार उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल-भारत आर्थिक साझेदारी, विकास सहकार्य, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा र सम्पर्क सञ्जाललगायत विषयमा छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
वाग्ले शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। सोही दिन दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
उनी शनिबार साँझ ४ बजे स्वदेश फर्किने कार्यतालिका छ।
प्रकाशित: २ आश्विन २०८३ ०६:४८ शुक्रबार