राजनीति

प्रधानमन्त्रीको हराभरा, मल नपाएर मलिन किसान

साउन अन्त्यतिर मधेसको खेतमा हरियाली फर्केको छ। मनसुनी वर्षा ढिलै भए पनि किसानको अनुहारमा केही हदसम्म मुस्कान देखिएको छ। केही साता अघिसम्म धाँजा परेका खेतमा धान रोपिएको छ। यही भएर होला प्रधानमन्त्री केपी शर्मा ओलीले हरिया तस्बिर पोस्ट गर्दै खेतबारीमा हरियो सपना लहराउने आशा राखेका छन्। तर किसान भने अझै ढुक्क हुन सकेका छैनन्। मनसुनी वर्षाले धान रोप्न पाए पनि मल अभावमा बाली पहेलिने चिन्तामा उनीहरू छन्।

‘प्रधानमन्त्रीले समाजिक सञ्जालमा लेखेको जस्तै अहिले खेतमा हरियाली छाएको छ,’ पर्साको वीरगन्जका किसान रामकिशोर पन्जियार भन्छन्, ‘तर समयमै युरिया मल नपाउँदा धानखेती पहेलिने चिन्ता छ।’

रोप्ने बेलामा डिएपी र युरिया दुवै मल खेतमा हाल्न नपाएका उनले अहिले पनि मल अभाव रहेको बताए। मल अभावमा हरियो धान पहेंलो हुने चिन्ताले सताएको उनले बताए।

यो समस्या उनको मात्र हैन, सबैको हो। हरेक वर्ष तराईमा धान रोप्ने बेलामा बिउ र मल अभाव हुने गरेको छ। ‘बरु आकाशे पानीको भर छ,’ किसान पन्जियारले भने, ‘तर सरकारले सममयमै बिउँ र मल दिनेमा भर छैन।’

सीमापारि भारतबाट मल ल्याए तस्करी गरेको भनेर सरकारले समाउने गरेको भन्दै उनले पैसा भएर पनि मल किन्न नपाएको गुनासो गरे। ‘आठ सय रुपैयाँमा पाइने युरिया मलको बोरा १५ सय तिर्न खोज्दा पनि पाइएको छैन,’ उनले भने, ‘किसानका लागि यो भन्दा दुःखको कुरा के हुन्छ?’

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सन्जालमा गरेको पोस्टमा मलभन्दा पनि मनसुनको कुरा धेरै छ। ‘यस वर्षको खडेरीले अन्नभण्डार तराईका खेत धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो। रोपाइँ भएका खेतमा पनि सिँञ्चाइ अभावले रोपो मर्न थालेको थियो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ। वर्षाले फेरि हरियाली फर्काउन थालेको छ।’

प्रधानमन्त्रीले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको जानकारी दिएका छन्। ‘केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा छ,’ उनले लेखेका छन्, ‘जय किसान !’

तर किसानको जय हुन सकेको छैन। ढिलै भए पनि मनसुनी वर्षाले तराईका खेतबारी हरियाली भए पनि किसानको मुहारमा पर्याप्त खुसी छैन। धान सप्रँदै गएका बेला मल हाल्न नपाउँदा पहेलिने खतरा बढेको छ। मधेसमा धान रोप्ने बेला मलको समस्या केवल यस वर्ष मात्र होइन, विगतका वर्षमा पनि हुन्थ्यो। यसमा कृषि मन्त्रालयले ध्यान दिन सकेको छैन। यो वर्ष मल अभाव नहुने भनेको मन्त्रालयले साउन अन्तिम सातासम्म पनि किसानलाई चाहिने मल उपलब्ध गराउन सकेको छैन।

युरिया, डिएपी, पोटासलगायतका रासायनिक मल समयमै नपाउँदा उत्पादन पनि घट्दै गएको छ। ‘वर्षौंदेखि यस्तै समस्या दोहोरिन्छ तर सरकारको ठोस पहल देखिँदैन,’ वीरगन्ज–३२ का विजय पन्जियारले भने, ‘समयमै मल नपाउँदा हाम्रो परिश्रम र लगानी दुवै पानीमा जान्छ।’

सरकारले बाली लगाउने बेलामा रासायनिक मल अभाव हुने नदिने वाचा हरेक वर्ष गर्छ। प्रधानमन्त्री र मन्त्रीले मल कारखाना खोल्ने भाषण गर्न थालेको पनि वर्षौं हुँदा पनि त्यो यर्थाथमा परिणत हुन सकेको छैन। बेलैमा मल आयात गरी वितरण गर्न सरकारले बर्सेनि चुकेको छ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले समयमा मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताउँछन्। ‘बाली लगाउने बेलामा किसानले मल पाइरहेका छैनन्,’ उनले केही समयअघि संसद्मा भनेका थिए, ‘मल पाए पनि दुई गुणा, तीन गुणा बढी मूल्य तिर्नुपरेको छ।’

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई लुटेर महल जोड्ने काम भइराखेको भन्दै यस्तो कार्य रोकिनुपर्ने माग गरेका छन्। ‘पहाडमा मकै छर्ने बेला रासायनिक मल अभाव हुन्छ,’ सापकोटा भन्छन्, ‘तराईमा धान रोप्ने बेलामा।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा अनुमानित वार्षिक करिब सात लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर सरकारले गर्ने आपूर्ति चारदेखि पाँच लाख मेट्रिक टनमा सीमित छ। त्यसैले हरेक वर्ष मलको अभाव हुने गरेको हो।

कृषिविज्ञ कृष्णप्रसाद पौडेल नेपालमा रासायनिक अभाव केवल आपूर्ति समस्याले मात्र भएको होइन। नीति र पूर्वतयारीको कमजोरी पनि अभाव हुने गरेको उनी बताउँछन्।

मौसमअनुसार मागको पूर्वानुमान, अग्रिम खरिद प्रक्रिया र भण्डारण पूर्वाधार अझै व्यवस्थित नभएको उनी बताउँछन्। ‘सरकारको दीर्घकालीन सोच छैन,’ उनले भने, ‘त्यही भएर हरेक वर्ष उही समस्या दोहोरिरहन्छ।’

उनका अनुसार रासायनिक मल उत्पादन गर्न नसकेको सरकार जैविक मल व्यवस्थापन र प्रयोगमा जोड दिन पनि चुकेको बताए। ‘सरकारले रासायनिक मलभन्दा कम्पोस्ट (जैविक) मलको प्रयोगमा जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘यसले माटोको उर्वरा शक्तिलाई कायम राख्छ र उत्पादन पनि बढाउँछ।’

प्रधानमन्त्री ओलीले भने रासायनिक मलको अभाव नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको बताउँदै हालको मौज्दात र आउने क्रममा रहेको मलको विवरण सार्वजनिक गरेका छन्।

कृषि मन्त्रालयबाट प्राप्त जानकारी उद्धृत गर्दै उनले हाल कृषि सामग्री कम्पनीसँग २९ हजार १११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३ हजार ७१२ मेट्रिक टन गरी ४२ हजार ८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको जनाएका छन्। थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले अभाव नहुने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन पनि किसानहरूलाई अनुरोध गरेका छन्।

गत असारमा पनि सरकारले धान रोप्ने बेला रासायनिक मल अभाव नहुने भनेको थियो। मनसुन भित्रिएसँगै वीरगन्ज नाकाबाट रासायनिक मल भित्रिन लागेकाले मल अभाव नहुने सरकारको तर्क थियो। कृषि सामग्री कम्पनी लिमिटेडले पनि भण्डारमा पर्याप्त रासायनि मल रहेका कारण यस वर्ष धान बालीका लागि रासायनिक मल अभाव नहुने जनाएको थियो। किसान भने मल अभाव हुँदा पाउन नसकेको बताउँछन्।

कृषि मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले आइतबार बिदा परेका कारण रासायनिक मलको यकिन विवरणबारे जानकारी नभएको बताइन्। ‘आज बिदा छ, सबै विवरण याद छैन। एक घण्टापछि सम्पर्क गर्नुहोस्, साथीहरूले फोन उठाउनुभयो भने सोधेर यहाँलाई विवरण दिन सक्छु,’ प्रवक्ता पण्डितले भनिन्। तर एक घण्टापछि सम्पर्क गर्दा उनको फोन उठेन।

प्रकाशित: २६ श्रावण २०८२ ०६:३३ सोमबार