राजनीति

पुराना दलले केही गरेनन् भन्ने भाष्यलाई तथ्यले चिर्छौँ : माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुराना दल र नेताहरूले देशमा केही गरेनन् भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन्। उनले २०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै शनिबार नेता नेपालले पछिल्लो समय राजनीतिलाई स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढेको बताए। शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उँचो बनाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त समाज निर्माणका लागि जीवन समर्पण गरेको उनले स्मरण गरे।

पुराना दलले केही गरेनन् भन्ने आरोपको वस्तुनिष्ठ समीक्षा हुनुपर्नेमा जोड दिँदै उनले संघ, प्रदेश र स्थानीय तहसम्म पार्टीका नेता–कार्यकर्ताले गरेका कामको विवरण छिट्टै प्रकाशन गर्ने बताए।

उनले कामका क्रममा भएका कमजोरीको समीक्षा गर्नुपर्ने भए पनि राम्रा कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

नेपालले राष्ट्रिय हित र स्वाभिमानमा आँच पुर्‍याउने कुनै पनि कार्य पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पार्दै राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राखेर जनचेतना र जागरण फैलाउन अभियान सुरु गरिएको बताए।

प्रकाशित: ७ कार्तिक २०८३ १८:२८ शनिबार