नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको अभियानमा सामेल हुन भन्दै सबैलाई पार्टीमा आउन आह्वान गरेका छन्।
पार्टीमा आउने हरेक व्यक्तिलाई स्वागत गरिने बताउँदै उनले एमाले पर्खेर बस्ने नभई देशलाई समृद्धिको दिशामा तीव्र गतिमा अघि बढाउने शक्ति भएको दाबी गरे।
सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एक लघु वाक्यमा भन्दिन्छु, सबैलाई स्वागत छ, आउनुस्।’
उनले एमालेको कार्यशैलीलाई गतिशील र परिणाममुखी भएको तर्क गर्दै सामान्य गतिले देशको विकास सम्भव नहुने बताए। उनले भने, ‘हामी सँगसँगै दौड्ने छौं अगाडि। हिँड्ने होइन, दौड्ने छौं।’
अध्यक्ष ओलीले एमालेको गति अरूको भन्दा तीव्र हुने जिकिर गरे। ‘एमाले कम हिँड्छ, दौड्छ,’ उनले थपे, ‘यो पर्खेर बस्ने होइन, यो गतिशील ढंगले अगाडि बढ्ने पार्टी हो।’
उनले एमालेमा सामेल हुने सबैसँग हातेमालो गर्दै देश विकासको साझा लक्ष्यमा तीव्र गतिले अघि बढ्ने विश्वास दिलाए।
प्रकाशित: २४ कार्तिक २०८२ १९:०६ सोमबार