नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आम निर्वाचनमा आफ्नो पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दा र एजेन्डाले भने जितेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनयुद्ध, जनआन्दोलन र आफूहरूको त्यागकै बलमा महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले संसदमा महिला, आदिवासी, जनजाति र सीमान्तकृत समुदायको उपस्थिति आफूहरूको बलिदानको उपज भएको सुनाए।
अन्य जुनकुनै पार्टीबाट महिलाहरू निर्वाचित भएर आए पनि त्यसले आफूलाई गर्व महसुस हुने उनले बताएका छन्।
‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याए पनि हामीलाई र आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले मलाई गर्व लाग्छ,’ दाहालले भने, ‘ती हाम्रै बलिदान, त्याग र तपस्याको कारणले सम्भव भएको हो।’
जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्र निर्माणको जगमा देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान तथा अधिकार स्थापित भएको उनले सुनाए।
रास्वपा सरकारलाई दाहालले शुभकामना समेत दिएका छन्। सरकारले जनपक्षीय र राम्रा काम गर्दा आफ्नो पार्टीले पूर्ण रूपमा सहयोग गर्ने उनले बताए।
तर, सरकारका कामकारबाहीमा कमीकमजोरी देखिएमा सडक र सदनबाट रचनात्मक प्रतिवाद गर्ने उनले चेतावनी दिए।
‘सरकारले राम्रो गरोस्, धेरै सिट ल्याएर आएका प्रतिनिधिहरू छन्, उनीहरूले राम्रो गरुन्। हाम्रो शुभकामना छ,’ दाहालले भनेका छन्, ‘जहाँ राम्रो गरिन्छ, हाम्रो सहयोग हुन्छ। कमी देखेपछि हाम्रो आलोचना हुन्छ। हामी रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढ्न चाहन्छौं।’
प्रकाशित: १७ चैत्र २०८२ १८:०५ मंगलबार