राजनीति

‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफू फेरि अर्को आन्दोलन तथा विद्रोहको तयारीमा जुटेको बताएका छन्।

बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार थप स्थापित गर्न र संविधान परिमार्जनका लागि नयाँ आन्दोलन आवश्यक भएको बताएका हुन्।

संयोजक दाहालले आफ्नो उमेर ढल्किए पनि क्रान्तिकारी विचार कमजोर नभएको दाबी गरे।

‘भौतिक उमेरको हिसाबले म ७२ कटेर अब ७३ टेक्दै छु,’ उनले भने, ‘तर विचारको हिसाबले म अर्को एउटा विद्रोह र आन्दोलनको तयारीमा छु, यो कुरा बुझिराख्नुहोला।’ उनले कठिन परिस्थितिबाट नआत्तिन आग्रह गर्दै रातपछि दिन आउँछ भन्ने यथार्थ नबिर्सन नेता-कार्यकर्तालाई स्मरण गराए।

दाहालले वर्तमान विश्व परिवेश, दक्षिण एसिया र नेपालको सन्दर्भ सुहाउँदो नयाँ आन्दोलनको खाँचो औंल्याए। पार्टी अहिले आन्तरिक रूपमा राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको जानकारी दिँदै उनले त्यसपछि देशव्यापी आन्दोलन अघि बढ्ने बताए।

‘यो जागरण अभियानपछि देशमा फेरि नयाँ किसिमको आन्दोलन आवश्यक छ र हामी त्यही प्रक्रियामा छौं,’ दाहालले भने, ‘जनतालाई मुक्त गर्ने, संविधानलाई परिमार्जन र परिष्कृत गर्ने तथा जनताको अधिकारलाई नयाँ उचाइमा उठाउने आन्दोलनको तयारीमा म छु।’

पार्टी पंक्तिमा निराशा छाएको र नकारात्मक कुरा मात्र आउने गरेको गुनासोप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलन सधैं आशावादी हुनुपर्ने बताए।

‘मार्क्सवाद र कम्युनिस्ट आन्दोलनले जहिले पनि आशावादिता, उज्यालो र सकारात्मकताको पक्षपोषण गर्छ, निराशा र अन्धकारको होइन,’ उनले भने।

नेता-कार्यकर्ताले आफू निराशाको कित्तामा उभिने कि आशावादिताको कित्तामा भन्ने प्रस्ट हुनुपर्ने उनको भनाइ थियो।

उनले कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र पेरिस कम्युनको ऐतिहासिक सन्दर्भ जोड्दै विचार सही भए क्रान्ति सम्भव हुने धारणा राखे।

कलामार्फत जनयुद्धबारे विमर्श सुरु गरेकोमा कलाकारहरूलाई धन्यवाद दिँदै संयोजक दाहालले सहिदका सपना र क्रान्तिको संकल्पलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २६ कार्तिक २०८३ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App