राजनीति

फागुन २१ पछि आउने संसद्‌मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ, सर्प त एउटा पनि पाल्न सकिँदैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछिको संसदमा पुराना दलहरूको अस्तित्व नै समाप्त पार्नुपर्ने बताएका छन्।

उनले अब बन्ने संसदमा सरकार मात्र होइन, प्रतिपक्षी बेन्चमा बस्नेहरू पनि नयाँ हुनुपर्ने बताएका हुन्।

मंगलबार सामाजिक संजालमार्फत् आफ्नो आगामी राजनीतिक रोडम्याप प्रस्तुत गर्दै उनले संसदलाई पूर्ण रूपमा शुद्धीकरण गर्नुपर्नेमा जोड दिए।

लामिछानेले देशलाई लुट्ने र अस्थिरता मच्चाउनेहरूलाई संसदमा प्रवेश निषेध गर्नुपर्ने बताए। उनले भने, ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन।’

उनले थपे- ‘यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ,’ लामिछानेले भने, ‘केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा अब तपाईंको जनताको हातमा छ।’

केही दिनको अस्पताल बसाईपछि सार्वजनिक भएका लामिछानेले आफ्नो शारीरिक संक्रमणलाई राजनीतिक विम्बसँग जोड्दै अब राज्य संयन्त्रको संक्रमण हटाउने बताए।

‘अपदस्त दुईतिहाइको सरकारले मेरो शरीरमा हालिदिएको विष निकालेर म फर्किएको छु,’ उनले भने, ‘अब सिंहदरबारका हरेक धमनीमा भरिएको विष निकाल्न म तपाईंको भोट माग्नेछु।’

उनले आगामी फागुन २१ गतेलाई नेपालको इतिहासको माइलस्टोन बताउँदै उक्त मितिपछि देशमा पूर्ण रूपमा नयाँ युगको आरम्भ हुने दाबी गरे।

प्रकाशित: २० माघ २०८२ १८:०३ मंगलबार