राजनीति

अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्।

मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बलजफ्ति विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको 'बासँग विद्यार्थी' कार्यक्रममा उनले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए।  

एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए।  

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए। चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनको भनाइ छ। कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पुर्याउन सुझाव पनि दिए।

प्रकाशित: १५ फाल्गुन २०८२ १२:५८ शुक्रबार