राजनीति

हाइड्रोमा हराएकाहरूको परिवारसँग ऊर्जामन्त्रीले भनेः अझै आशा मार्ने बेला भएको छैन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेकाहरुको परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उनीहरूको साथमा रहेको बताएका छन्।

परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए।

सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उजको भनाइ थियो।

‘हरेक जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने।

खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उनले जानकारी दिए।

उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताए।

सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे।

‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ। अझै आशा मार्ने बेला भएको छैन। प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ उनले भने।

मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिए।

नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार उपलब्ध सबै उपायको प्रयोग भइरहेको उनले बताए।

त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी तथा उद्धारका प्रयासबारे परिवारजनलाई जानकारी दिए।

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उनले बताए।

प्रकाशित: १७ भाद्र २०८३ १५:२६ बुधबार