राजनीति

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला

सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। 

मन्त्रालय मातहतको विद्युत् नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने प्रयोजनका लागि प्रसारण दस्तुर (ह्वीलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको हो। 

आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्डका आधारमा शुल्क निर्धारण गरिएको हो। 

मापदण्डअनुसार आर्थिक वर्ष २०८३।८४ का लागि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको राष्ट्रिय विद्युत् प्रसारण ग्रीडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट प्रतिमहिना रु। ४ लाख १३ हजार तथा अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको छ। 

अध्यक्ष धितालले खुला बजार नीतिअन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत् प्रसारण प्रणाली प्रयोग गर्न दिने उद्देश्यले शुल्क निर्धारण गरिएको बताए। 

‘उक्त शुल्क निर्धारण गर्दा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण र प्राधिकरणबाट पेस भएको आर्थिक वर्ष २०८२।८३ र २०८३।८४ का लागि वार्षिक आवश्यक आयको अनुमानित विवरणलाई समेत आधार मानी मापदण्डबमोजिमको गणना विधि अपनाइएको छ,’ धितालले भने। 

उनका अनुसार तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत् आदानप्रदान गर्दा आयोगले तोकेको मापदण्ड र दरअनुसार नेपाल विद्युत् प्राधिकरणलाई ह्वीलिङ चार्ज तिर्नुपर्नेछ। 

आयोगका सदस्य जयराज भण्डारीले राष्ट्रिय विद्युत् प्रसारण ग्रीडअन्तर्गत बाहेकका अन्य रेडियल तथा डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रियासम्बन्धी छुट्टै निर्देशिका जारी गर्ने गरी काम भइरहेको बताए।

मापदण्डमा के छ ?  

आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १३ तथा विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम १३ अनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीडको प्रसारण प्रणाली प्रयोग गरेबापत शुल्क निर्धारणसम्बन्धी मापदण्ड तय गरेको हो। 

सदस्य भण्डारीका अनुसार विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका, २०८२ को दफा ३३ बमोजिम प्रसारण शुल्क निर्धारण गर्न भदौ ३१ गतेदेखि लागू हुने गरी ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३’ जारी गरिएको हो। 

मापदण्डमा राष्ट्रिय विद्युत् प्रसारण ग्रीडको प्रसारण शुल्क निर्धारणका लागि अपनाइने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश गरिने विषय र त्यसको गणना विधिलगायतका व्यवस्था गरिएको छ। 

प्रसारण शुल्क निर्धारणका लागि अनुमति प्राप्त व्यक्तिको वार्षिक आवश्यक आय गणना गर्दा ह्रासकट्टी, ऋणको ब्याज, कर्मचारी तथा सञ्चालन खर्च, प्रसारण सेवाको लागत, स्वपुँजी लगानीबापतको प्रतिफल, विदेशी मुद्रा विनिमयसम्बन्धी खर्च र आयकरलगायतका विषय समावेश गरिने भण्डारीले बताए। 

मापदण्डअनुसार प्रसारण शुल्क निर्धारण गर्दा प्रसारण प्रणाली प्रयोग गरेबापत अनुमति प्राप्त व्यक्तिको वार्षिक आवश्यक आयको पूर्ण तथा न्यायोचित असुली सुनिश्चित हुने गरी शुल्क निर्धारण गरिनेछ। 

त्यसैगरी प्रसारण प्रणालीको क्षमता र ऊर्जा प्रवाहका आधारमा आयोगले निर्धारित जडित क्षमता (प्रतिमेगावाट) वा ऊर्जाको परिमाण (प्रतिकिलोवाट घण्टा) मध्ये उपयुक्त विधि अवलम्बन गरी राष्ट्रिय विद्युत् प्रसारण ग्रीडको प्रसारण प्रणालीमा खुला पहुँच सेवा उपभोग गरेबापत लाग्ने प्रसारण शुल्क निर्धारण गर्न सक्ने व्यवस्था मापदण्डमा गरिएको छ।   

प्रकाशित: १५ आश्विन २०८३ १६:१७ बिहीबार