राजनीति

फागुन २१ मा निर्वाचन हुनै पर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।

प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए। 'संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,' कोइरालाले भने, 'हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।'

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो। 'दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ? कोइरालाले प्रश्न गरे।

आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानिय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए।

प्रकाशित: ४ पुस २०८२ १२:५४ शुक्रबार