राजनीति

निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन्।  

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा उनले  शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दै सो कुरा बताएका हुन् ।  

उनले भनेका छन्, “एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ।”  

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:२६ बिहीबार