राजनीति

एक थोपा र'गत नबगी निर्वाचन सम्पन्न भयो: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य एक थोपा पनि रगत नबगी शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले देशभर एकै चरणमा उत्साहजनक रूपमा मतदान सकिएको जानकारी दिएका हुन्।

गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रधानमन्त्रीको अभिलाषा पूरा भएको उल्लेख गरेका छन्।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्व र राष्ट्रपतिको निर्देशनमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भयो। प्रधानमन्त्रीज्यूको अभिलाषा बमोजिम एक थोपा पनि रगत नबगी निर्वाचन गर्ने कार्य सम्पन्न भएको छ।’

लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत् जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष रहेको उनको भनाइ छ।

यस निर्वाचनले संविधान कार्यान्वयन र जनताका अधिकार संस्थागत गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको उनले औंल्याए।

विज्ञप्तिमार्फत मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न मतदाता, उम्मेदवार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र पर्यवेक्षकहरूप्रति आभार प्रकट गरेका छन्।

उनले मतदानपछि अब सुरु हुने मतगणना कार्यमा पनि सकारात्मक भूमिका र सहयोगका लागि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको अर्यालले बताएका छन्।

उनले अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति उच्च सम्मान व्यक्त गरे।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:०४ बिहीबार