गृहमन्त्री ओमप्रकाश अर्यालले शासन व्यवस्थालाई वैधानिकता प्रदान गर्न र लोकतन्त्रको रक्षा गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न दृढ रहेको बताए।
जेन–जी जनआन्दोलनको स्मरण गर्दै गृहमन्त्री अर्यालले नयाँ पुस्तालाई राजनीतिमा मूल प्रवाहीकरण गर्नुपर्नेमा जोड दिए।
‘सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भन्ने कुरा जेन-जी आन्दोलनले पुष्टि गरेको छ,’ मन्त्री अर्यालले भने, ‘अब युवा पुस्तालाई ‘बाइपास’ गरेर र उनीहरूका जायज मागलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन।’
उनले आवधिक निर्वाचन नै सुशासनको आधार भएको उल्लेख गर्दै ताजा जनादेश प्राप्त सरकारले मात्र बलियो गरी काम गर्न सक्ने बताए।
पुस ७ गते प्रधानमन्त्रीले आयोजना गरेको सर्वपक्षीय छलफलमा पनि तोकिएकै मितिमा चुनाव गर्ने साझा प्रतिबद्धता व्यक्त भएको उनले स्मरण गराए।
सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने निर्वाचनका लागि पूर्ण वातावरण बनिनसकेको टिप्पणी गरे।
संघीय सरकारलाई सघाउन प्रदेश सरकार तत्पर रहे पनि राजनीतिक परिस्थिति सहज नदेखिएको उनको भनाइ थियो।
‘राजनीतिक दल र दलीय व्यवस्थालाई नजरअन्दाज गरेर जाने हो भने आगामी निर्वाचन गर्न चुनौतीपूर्ण हुनेछ,’ मुख्यमन्त्री कँडेलले भने, ‘प्रदेशमा सौहार्द राजनीतिक वातावरण नबनेसम्म चुनावको सुनिश्चितता हुँदैन।’
गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख एवं सहसचिव आनन्द काफ्लेले कर्णालीको विशिष्ट सुरक्षा चुनौती विश्लेषण गरी रणनीति तय गरिने जानकारी दिए।
गोष्ठीको दोस्रो सत्रमा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटै जिल्लाका सुरक्षा अधिकारीहरूले जिल्लागत सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण दिने कार्यक्रम छ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव वीरेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग के.सी., नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक टेकेन्द्र कार्की, र पृतनापति उपरथी दीपेशजंग थापा लगायतको उपस्थिति थियो।
प्रकाशित: ९ पुस २०८२ ११:०० बुधबार