नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समिति उपाध्यक्ष न्हुछेंभक्त फोंजु आफूलाई ठुला भन्ने दलहरुले सार्वजनिक रुपमा चुनाव हुँदैन भने पनि भित्रभित्रै तयारी गरिरहेको बताउँछन्। ठुला दलहरू प्रत्यक्षअप्रत्यक्ष रुपमा जनता माझ गइरहनु नै यो कुराको प्रमाण भएको उनको तर्क छ। ‘चाहे वर्तमान सरकारको विरोध होस् वा अन्य विविध कार्यक्रम नै, जेसुकै भने पनि उनीहरु जनतासमक्ष जानु भनेको चुनावको लागि तयारी गर्नु नै हो’, उनको विश्लेषण छ।
एमाले चुनावभन्दा पनि प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिएको छ। एमाले त्यसका लागि सर्वाेच्च अदालतको ढोका पनि ढक्ढकाउन पुगेको छ। उसले सडक पनि तताउन थालेको छ तर पनि एमाले भक्तपुर जिल्लाका नेताहरुले जिल्ला निर्वाचन कार्यालय भक्तपुरले निर्वाचन तयारीका विषयमा छलफल गर्न पटकपटक गरेका सर्वदलीय बैठकमा भाग लिइरहेका छन्। एमालेले बाहिर जे भने पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको संकेत यसबाट मिलेको छ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगर दलहरु मात्रै नभई मतदाता पनि निर्वाचनप्रति उत्साही रहेको दाबी गर्छन्। विशेषगरी जेनजी पुस्ता निर्वाचनप्रति बढी उत्साही रहेको पाइएको उनी सुनाउँछन्।
उनी भन्छन्, ‘खासमा १८ वर्ष उमेर पुगेका नेपालीको मात्रै मतदाता नामावलीमा नाम समावेश हुन्छ तर १६ वर्षमै मतदाता नामावलीमा नाम दर्ता गर्न भनी धेरै जेनजीहरु आए। हामी निर्वाचन गराउँछौं, उनले भने, ‘हाम्रो उद्देश्य नै तोकिएको मितिमा निर्वाचन गराउनु हो।’
यसका लागि कार्यालयले काम गरिरहेको उनी सुनाउँछन्। १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदाता सूचीमा सूचीकृत भए मतदान गर्न पाउँछन्।
भक्तपुर जिल्ला निर्वाचनको कार्यालयका अनुसार निर्वाचन मिति नजिकिँदै आउँदा चुनावी माहोल पनि तातिएको छ। दलका नेतादेखि स्वतन्त्र रुपमा चुनाव लड्न चाहनेले घरघर अभियान, भेला, छलफल र घुम्तीसभालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा तीव्र पारेका छन्। विशेषगरी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनकेन्द्रित भएरै विभिन्न कार्यक्रमहरु गरिरहेको छ।
राष्टिय स्वतन्त्र पार्टीका जिल्ला नेता साजन विक फागुन २१ मा चुनाव हुने बताउँछन्। ‘जनता चुनाव चाहन्छन्’, उनी भन्छन्, ‘जनताले चाहेपछि कसले रोक्न सक्छ?’ जनता नयाँ दलप्रति आकर्षित रहेको र नयाँ दलहरुको नेतृत्व आफ्नो पार्टीले गरेको उनको विश्लेषण छ। त्यसकारण यो पटकको निर्वाचनले ठुला दलहरुलाई साइजमा ल्याउने उनको दाबी छ।
निर्वाचन आयोगले चुनावी तयारीलाई तीव्रता दिएको जनाएको छ। मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउँदै आयोगले मतदान केन्द्रहरूबारे पनि छलफल चलाएको छ। मतदान केन्द्रमा सिसिटिभी, सहज पहुँच, विशेष सुरक्षा व्यवस्था गरिने उसले बताएको छ।
मतदातामा पनि उत्साह देखिन्छ। बजार, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावकै चर्चा चलिरहेको छ। पहिलोपटक मताधिकार प्रयोग गर्न पाउने युवा विशेष उत्साहित छन्।
भक्तपुर सूर्यविनायककी मतदाता नुमा सुव्बा यो पटक आफूलाई मत हाल्ने विशेष उत्साह थपिएको बताउँछिन्। यो पटक नयाँ शक्तिहरु आएकाले मत हाल्न विशेष उत्साह थपिएको उनको भनाइ छ। ‘पहिला पहिला पनि धेरै पटक मत हालियो तर जसलाई जिताए पनि देशका लागि खासै कसैले केही गरेनन्’, उनले भनिन्, ‘त्यही कारण मतदान गर्न उत्साह हुँदैन्थ्यो तर अहिले नयाँ शक्तिहरु उदाएका कारण उनीहरुलाई जिताउनकै लागि भए पनि म मतदानका लागि तयार छु।’
भक्तपुरमा सन्तुलित प्रतिस्पर्धा हुने संकेत देखिएको छ। नयाँ दलहरु सार्वजनिक रुपमै तयारीमा जुटेका छन् तर पुराना दलहरू भने भित्रभित्रै तयारीमा जुटिरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरू मतदाताले अन्तिम चरणसम्म व्यक्ति, सेवा प्रदर्शन र स्थानीय मुद्दाका आधारमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिने बताउँछन्। भक्तपुरको चुनावी परिणाम कसको हातमा पर्ला भन्ने विषयमा पनि उत्सुकता बढ्दो छ।
पछिल्लो निर्वाचन परिणाम
भक्तपुरमा प्रतिनिधिभा निर्वाचनतर्फ दुई वटा क्षेत्र छन्। भक्तपुर निर्वाचन क्षेत्र नं १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका तथा क्षेत्र नं २ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छन। यो जिल्ला गाउँपालिकाविहीन छ।
भक्तपुर क्षेत्र नं १ नेमकिपाको प्रभुत्व रहेको क्षेत्र हो। यो क्षेत्रमा उसले २०४६ सालदेखि अहिलेसम्म निरन्तर फराकिलो मतका साथ विजय हासिल गर्दै आएको छ। २०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भक्तपुर १ बाट नेमकिपाका प्रेम सुवाल विजयी भएका थिए। सुवालभन्दा अघि पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले यो क्षेत्रबाट पाँच पटक जित निकालेका थिए।
२०७९ को चुनावमा यो सुवालले ४२ हजार बढी मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलाल ११ हजार मतमा सीमित भएका थिए। यस हिसाबले विजयी र निकटतम प्रतिद्वन्द्वीबिचको मतान्तर ३० हजार बढी थियो।
उक्त निर्वाचनमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका थिए । यो क्षेत्रको मत खासै तलमाथि हुँदैन । सैद्धान्तिक मत भएकै कारणले यहाँ प्रायः तलमाथि हँुदैन।
भक्तपुरको निर्वाचनको विशेष आकर्षण र चर्चा क्षेत्र नं २ हो। यो क्षेत्र हरेक निर्वाचनमा चर्चाको विषय हुने गरेको छ। यो क्षेत्रमा २०४६ सालपछि नेपाली कांग्रेस र नेमकिपाले पालैपाले जित निकाल्दै आएका थिए। निर्वाचन क्षेत्र हेरफेर भएपछि भने कांग्रेस र एमालेबिच प्रतिस्पर्धा चल्दै आएको छ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए। एमालेका महेश वस्नेतलाई हराउँदै थापा विजयी भएका हुन्। थापा २४ हजार २३९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार दुई सय ८२ मत पाएका थिए। ९ सय ५९ मतान्तरमा थापा विजयी भएका हुन्। तेस्रो स्थानमा रहेकी नेमकिपाकी अनुराधा थापामगरले सात हजार १२७ मत पाएकी थिइन्। चौथो स्थानमा रहेका रास्वपाका साजन विकले चार हजार ९८ मत पाएका थिए।
२०७९ भन्दाअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर २ बाट एमालेका बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका थिए। बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगाना १८ हजार ६३५ मतमा सीमित भएका थिए। यस हिसाबले पनि यो क्षेत्रको मत चयालमान छ। यो क्षेत्रमा बसाइँसराइ गरी आउने धेरै छन्। यो क्षेत्रमा यसपटक कांग्रेस र एमालेलाई नेमकिपा वा रास्वपा चुनौती बन्ने आकलन गरिएको छ।
कति थपिए नयाँं मतदाता?
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा झण्डै १५ हजार नयाँ मतदाता थपिएका छन्। कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले भक्तपुरमा यस पटक मतदाताको संख्या दुई लाख नाघेको जानकारी दिए।
निर्वाचन हुनुपर्छ, हुन्छ
प्रेमध्वज लामा, अभियन्ता
अहिलेसम्म निर्वाचनको खासै माहोल छैन। निर्वाचनको विकल्प छैन। निर्वाचन नै अहिलेको राजनीतिक अस्थिरताको निकास हो। निर्वाचन तोकिएको मितिमा हुन सकेन भने देश अझै बढी संकटमा फस्न सक्ने निश्चित छ। यसकारणले पनि निर्वाचन हुनुपर्छ, हुन्छ । यही हिसाबले अघि बढ्ने हो भने पुराना दलहरुलाई पाखा लगाउन कठिन छ। नयाँभन्दा पुरानै दलको पकड छ। सरकारी र गैरसरकारी कार्यालयमा पनि पुरानै दल निकट कर्मचारी र संगठन छन्। यसको अर्थ नयाँ दलले जित्दैजित्दैनन् भनेने होइन। नयाँ दलको कार्ययोजना प्रस्ट हुनुपर्छ। अहिलेसम्म उनीहरूको योजना, नीति, सिद्धान्त खासै प्रस्ट छैन।
चुनाव होला जस्तो लाग्दैन
सन्तबहादुर लाकजु, व्यापारी
निर्वाचनका लागि सरकारका तर्फबाट खासै तयारी देखिँदैन। सरकारका गतिविधिका कारण फागुनमै निर्वाचन हुन्छ भन्ने मलाई लाग्दैन। दलहरूले भने निर्वाचनमा जाने तयारी गरेको देखिन्छ।
यो निर्वाचनले पनि जेनजीहरुको माग पूरा गर्न सक्दैन जस्तो लाग्छ। चुनावभइहालेमा जितेर आउने एमाले, कांग्रेस, राप्रपा, नेपाली कम्युनिस्ट पार्टीमध्येबाट हुन्। किनकि जेनजीहरु विभाजित छन्। उनीहरूले आफूआफूबिच विवाद गरिरहेका छन्। यसको फाइदा पुराना दलले लिनेछन्। असली जेनजीहरुको यात्रा कहाँसम्म हो भन्ने प्रस्ट छैन। यात्रा निश्चित नगरी हिँड्दा गन्तव्यमा पुग्न कठिन हुन्छ .
एमालेका कारण अन्योल
सूर्य श्रेष्ठ, समाजसेवी
देशको ठुलोमध्येको पार्टी एमाले फागुनमा तोकिएको निर्वाचनको विपक्षमा छ। एमाले चुनाव गराउने पक्षमा छैन। फेरि अहिले देश जलेको अवस्था छ। सरकारी कार्यालयका संरचना पनि ध्वस्त भएका छन्।
यति मात्रै होइन, चुनावको तयारीका लागि पनि अलि समय अपुग जस्तो छ। एमालेले चुनाव हुन नसक्ने बताउँदै आएको छ तर त्यो पार्टी यति बाठो छ कि चुनाव भयो भने पनि भाग लिन छोड्दैन। चुनावी प्रतिस्पर्धामा ऊ जसरी पनि आउँछ जस्तो मलाई लाग्छ। एमालेकै कारण चुनाव अनिश्चयमा छ। अरु दल त निर्वाचनको पक्षमा देखिएका छन्। राजनीतिक संकटको निकास र स्थिरताका लागि निर्वाचन हुनुपर्छ।
समस्याको निवकास चुनाव
न्हुछें मानन्धर, राजनीतिकर्मी
वर्तमान समस्याको समाधान चुनाव हो। त्यसकारण चुनाव हुन्छ। यसमा शंका नगर्दा हुन्छ । चुनावी परिणाम पनि हामी सहजै अनुमान लगाउन सक्छौं। परिणाम नयाँ पार्टीहरु अर्थात् नयाँ शक्तिहरुको पक्षमा आउनेछ। नेपाली कांग्रेस र एमालेलाई जनताले साइजमा ल्याउने छन्। किनकि ३५ वर्षदेखि उनीहरुले देशमा शासन गरे पनि राम्रा काम भने केही गरेनन्। यो कुरा जनताले बुझिसकेका छन्। नयाँं पार्टीहरु मिलेर चुनावमा गए परिणाम उनीहरूको पक्षमा आउँछ। उनीहरु एक्लाएक्लै लडे भने परिणाम मिश्रित आउनेछ। त्यो भयो भने देशमा फेरि अस्थिरता आउनेछ। त्यसकारण जनताले विवेकले मत दिनुपर्छ।
प्रकाशित: १३ मंसिर २०८२ ०८:०३ शनिबार