राजनीति

चुनावी चर्चा: दलहरू शिथिल, मतदातामा पनि छैन उत्साह

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलहरू अन्योलग्रस्त छन्। दुई दिनको जेनजी आन्दोलनले दलीय सरकार अन्त्य गरिदियो। ठुला दलहरु ‘सही बाटोमा नभएको’ ठम्याइँसहित भएको उक्त आन्दोलनपछि दलविहीन नयाँ सरकार बन्यो। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भई फागुन २१ का लागि निर्वाचन मिति तोकिएको दुई महिना बितिसकेको छ। तर पुराना दलका नेता अहिलेसम्म मतदातासमक्ष निर्वाचन लक्षित कार्यक्रम लिएर जान सकिरहेका छैनन्।

दलहरु शिथिल बनेका कारण दाङमा चुनावी वातावरण बन्न सकिरहेको छैन। दलहरु नतात्दा फागुनमा निर्वाचन हुनेमा आशंका पनि व्यक्त गर्न थालिएको छ। ‘सरकारले मिति तय गरे पनि चुनाव होला जस्तो हामीलाई लागेको छैन’, घोराही १५ का मतदाता पूर्ण कार्की भन्छन, ‘अहिलेसम्म दलहरुले चुनावी गतिविधि गरेका छैनन्, दलहरु तयार नभएसम्म कसरी चुनाव हुन्छ भनेर विश्वास गर्नु?’

दाङमा पनि जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसको कार्यालय तोडफोडसहित बिपी कोइरालाका सालिक ढालिएको थियो। कांग्रेसले पार्टी कार्यालय केही व्यवस्थित गर्नुका सार्थ बिपी चोकमा बिपीको तस्बिर राखे नागरिकसँग साक्षत्कार सुरु गरेको छैन। पार्टी कार्यालयमै नेताहरु जम्मा भएर आन्तरिक छलफल भइरहेको जनाउँदै कांग्रेस दाङ जिल्ला समिति सदस्य सन्तोष योगीले भने, ‘तर सार्वजनिक कार्यक्रम तय भइसकेको छैन।’ योगीले महाधिवेशनका विषयमा देखिएको अन्योलले पनि मतदातासम्म जाने कुरामा केही विलम्ब भएको दाबी गरे।

एमालेले पनि चुनाव लक्षित सक्रियता देखाएको छैन। तर राष्ट्रिय जागरण अभियानका नाममा तल्लो तहसम्म आफ्नो भूमिका विस्तार गर्ने योजनामा एमाले देखिन्छ। केन्द्रीय महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले राष्ट्रिय जागरण अभियानका नाममा सदरमुकाम घोराहीमा असोज २६ मा बृहत प्रदर्शन गरेको थियो। राष्ट्रिय जागरण सभामार्फत जनतासँग जोडिने तयारी भइरहेको जनाउँदै एमाले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले भने, ‘जिल्लामा एमालेलाई पुनः ठुलो दलका रुपमा उभ्याउने छौं।’

नेकपा एकीकृत समाजवादी लगायतसँग एकता गरेको माओवादी केन्द्र (एकीकृत नामा नेपाली कम्युनिस्ट पार्टी) एकीकरणपछि झनै अन्योलमा छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीलगायतसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गरेपछि सो दलका कार्यकर्ता विभाजित बनेका छन्।

एकीकरणबाट असन्तुष्ट नेता जनार्दन शर्मा र दाहाल पक्षमा कार्यकर्ता विभाजित छन्। १० वाम घटकबिच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले नेताहरूको समायोजन र कार्य विभाजनलाई प्राथमिकतामा राखेका कारण जिल्ला तहमा निर्वाचनसम्बन्धी गतिविधि गर्न नसकेको नेता निर्मल आचार्यले बताए। ‘अहिले हामीहरु केन्द्रमा एकतामा गयौं, अब यो प्रक्रियाअन्तर्गत जिल्लादेखि टोलसम्म नयाँ संरचनाहरु निर्माण हुनेछन’, आचार्यले भने, ‘अझै केही राजनीति शक्तिसँग एकता गरेर यो प्रक्रिया टुंग्याइने छ। त्यसपछि चुनावी गतिविधि अघि बढाइने छ।’

पुराना दलहरुमा आन्तरिक बेमेल वा समस्या रहे पनि उनीहरुले जेनजी आन्दोलनपछि आफूमाथि लागेका आरोप चिर्ने प्रयत्न गर्न सकिरहेका छैनन्। पुराना दलहरुलाई आमनागरिकले सच्चिएको रुपमा हेर्न चाहिरहेका छन्। तर जेनजी आन्दोलनपछि शिथिल बनेका दलहरु चुनावी यात्रामा सक्रिय बन्न सकेका छनैन्। दलहरूले चुनावी सक्रियता नबढाए मतदातामा उनीहरुप्रतिको धारणा झनै नकारात्मक बन्दै जाने तर्क लेखक तथा विश्लेषक विपुल पोखरेलको छ।

‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालका ठुला दलहरु सही बाटोमा नभएको सन्देश व्यापक रुपमा दियो, त्यसले दलहरुलाई सच्चिनुपर्छ है भन्ने अर्को सन्देश पनि दियो,’ पोखरेल भन्छन्, ‘जेनजी आन्दोलनलाई सच्चिने अवसरका रूपमा लिएर दलहरू अगाडि बढ्नुपर्छ। जेनजी आन्दोलनका अगुवाहरुसँगै बसेर प्रमुख दलहरुले उनीहरुका मागका विषयमा विमर्श गर्नुपर्छ।’

उनी ठुला दलहरुले आफूमाथि लागेका आरोप चिर्न जेनजीका माग सम्बोधन मुखले मात्र नभइ कार्यान्वयन गरी देखाउने सामथ्र्य राख्नुपर्ने बताउँछन् तर दलहरुले जेनजीलाई अवमूल्यन गरिरहेका छन्। त्यसले आमनागरिकमा दलहरुप्रति नकारात्मक दृष्टिकोण झनै बढाउन सहयोग गरेको पोखरेलको तर्क छ।

नयाँ पुस्तामा पुराना दलहरुको विकल्प खोजिनुपर्ने आवाज व्यापक बन्दै गइरहेको छ। ‘जेनजी आन्दोलनले लामो समयसम्म आफूखुशी गर्दै आएका दलहरुको सरकारलाई ठेगान लगाइदियो, यो एकदमै जरुरी थियो,’ घोराहीका होटेल व्यवसायी रमेश केसी भन्छन्, ‘जेनजी पुस्ताको आन्दोलनबाट ठेगान लागेका यी दलहरुलाई उठन नदिन जेनजी पुस्ताकै नेतृत्वमा नयाँ दल निर्माण हुनुपर्छ।’ तर जेनजी आन्दोलनका अजेन्डामा मुलुक चल्न नसकेकाले पुराना दलहरुको विकल्प नदेखिएको बताउने पनि छन्। यस्तो मत राख्नेहरूले पुराना दलहरु सच्चिनुपर्ने सर्त राखेका छन्।

घोराही–१७ ढिकपुरका मतदाता लक्ष्मीमान चौधरी भन्छन्, ‘जेनजी उमेर समूह हो, यो समूहले राजनीनिक नेतृत्व गरेर अगाडि बढ्न सक्दैन। फलतः राजनीतिक नेतृत्वका लागि पुरानै दलहरुको विकल्प देखिन्न तर उनीहरु जेनजी आन्दोलनको अजेन्डाअनुसार सच्चिनुचाहिँ पर्छ।’ उनले जेनजीका अजेन्डा सम्बोधन गर्नेगरी दलहरूले मतदातासँग साक्षात्कार गर्नुपर्ने बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब चार महिना पनि पूरा छैन। तर अहिलेसम्म दलहरू मतदातासमक्ष नपुग्नुले उनीहरुलाई नै घाटा लाग्ने राजनीतिशास्त्रका प्राध्यापक डा. सुदीप गौतम बताउँछन्। दलहरु मतदातासँग साक्षात्कारका लागि टोलटोलमा पुग्नुपर्ने बेलामा पनि निष्क्रिय बस्नुले फागुनमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका मतदाताहरुमा पनि बढेको उनले बताए। ‘दलहरु चुनावकेन्द्रित साक्षात्कारमा खटिए मात्रै चुनावी वातावरण निर्माण हुने हो’, महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक गौतम भन्छन्, ‘तर अहिलेसम्म दलहरुले चुनावी वातावरण बनाउन सकेका छैनन्। दलहरु सक्रिय भए मात्र मतदातामा पनि चुनाव हुन्छ भन्ने विश्वास बढ्छ।’

पुराना दलहरु मतदाताबाट टाढा रहँदा उनीहरूप्रतिको असन्तुष्टि बढ्दै जाने र त्यसले चुनावी परिणाममा असर पार्ने उनले बताए। जेनजी आन्दोलनको चाहनाअनुसार सच्चिएर मतदातासमक्ष पुग्न दलहरुले ढिलाइ गर्न नहुने उनको भनाइ छ। ‘अन्यथा दलहरुको पुरानो विरासतमा धक्का लाग्छ। यसर्थ पुराना दलहरुले आफूलाई परिमार्जन गरी जनतासमक्ष जान जरुरी देखिन्छ।’

पुराना दलप्रति मतदाताको धारणा नकारात्मक बनेको भए पनि जिल्लामा वैकल्पिक बलियो शक्ति स्थापित हुने सम्भावना पनि न्यून देखिन्छ। जेनजी आन्दोलनपछि  कुनै नयाँ शक्ति बलियो बनेर उभिन अहिलेसम्म सकेको छैन। नयाँ दलको उपस्थिति भए पनि त्यसले आगामी निर्वाचनसम्म मतदातालाई विश्वासमा राख्न सक्ने प्रबन्ध मिलाउन नसक्ने विश्लेषक पोखरेलको टिप्पणी छ। अहिलेसम्म अवस्था हेदा निर्वाचनमा नयाँ शक्ति हाबी हुने सम्भावना कम रहेको बताउँदै उनले भने, ‘फेरि पनि पुरानै दलहरुबिच प्रतिस्पर्धा हुने देखिन्छ।’

 मतदाताले पुराना दललाई पनि शंकाको दृष्टिकोणले हेरिरहेको र नयाँप्रति पनि भरोसा गर्न सक्ने अवस्था नभएको बताउँदै उनले भने, ‘पुराना दलहरू सच्चिएर आउनसके उनीहरूकै पल्ला भारी हुन सक्छ।’

कसको अवस्था कस्तो?

गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतबिच गठबन्धन थियो भने एमाले र अन्य साना दलहरु एक्लाएक्लै निर्वाचनमा सहभागी भएका थिए। प्रतिनिधिसभातर्फ जिल्लाका तीनवटै क्षेत्रमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए।

क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा र क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरी निर्वाचित भएका थिए। एमाले दोस्रो दल बनेको थियो। निर्वाचनमा रास्वपाले पनि रामै मत पाएको थियो। तर अहिले अध्यक्ष रवि लामिछाने ठगी मुद्दामा मुछिएपछि रास्वपाको प्रभाव बढ्नुको साटो कमजोर भएको विश्लेषण गर्न थालिएको छ।

जिल्लामा २०७९ को निर्वाचनमा चार लाख १४ हजार ९ सय ५६ मतदाता थिए। क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७ सय ३३, क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७ सय ४८ र क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता थिए। अहिले नयाँ मतदाताको नाम संकलन जारी भएकाले मतदाता थपिने छन्। कात्तिक २५ गतेसम्म ४ हजार २ सय १२ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र गिरीले जानकारी दिए।

सबै पक्ष सहभागी हुनुपर्छ

विपीन बुढाथोकी, अधिकारकर्मी

विपीन बुढाथोकी, अधिकारकर्मी

सरकारले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकी तयारी अघि बढाएको छ। ठुला दलहरु चुनावका लागि तयार छन् कि छैनन् भन्ने प्रश्न यतिबेला प्रमुख हो। नेपाली कांग्रेस महाधिवेशन विवादमा छ। एमालेले चुनाव हुन नसक्ने भन्दै प्रतिनिधिसभा पुनर्स्थापना माग गरेको छ। जेनजी आन्दोलनपछिको नयाँ परिस्थतिमा चुनाव हुन लागेको छ। जे भए पनि दलहरुले जेनजी मुद्दा र निर्वाचनलाई अस्वीकार गर्नु हुँदैन।  

लोकतन्त्र जोगाउन चुनाव

निर्मल गौतम, कानुन व्यवसायी

सरकारले तोकेको मितिमै निर्वाचन हुन सरकार र दलहरु दुवै तयार हुनुपर्छ तर अहिलेसम्म यी दुवै पक्षबाट चुनावी वातावरण निर्माण भएको देखिन्न। सरकारले चुनाव तयारी गरिरहेको भए पनि सुरक्षा संयन्त्र निर्वाचनका लागि तयार छ कि छैन? सरकार प्रस्ट हुनुपर्छ। दलहरुले पनि निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमा दोहोरो चरित्र देखाइरहेका छन्। मुलुकको हित र लोकतन्त्र संरक्षणका लागि फागुन निर्वाचन हुनुपर्छ।

जनादेशकाे विकल्प छैन

हेमराज शर्मा, शिक्षक

हेमराज शर्मा, शिक्षक

अहिलेसम्म चुनावी उत्साह देखिएको छैन। बरु चुनाव हुुन्छ र भन्ने प्रश्न उठिरहेको छ। दलहरु चुनावलक्षित कार्यक्रम लिएर गाउँसम्म पुग्न नसक्दा आशंका उत्पन्न भएको हो। जेनजी आन्दोलनले उठाएका अजेन्डासहित दलहरु मतदातासमक्ष जानुपर्छ। दलहरुका लागि यो भन्दा अर्को विकल्प छैन। सुशासन, रोजगारीको सिर्जना, भ्रष्टाचार अन्त्यको प्रतिबद्धतासहित दलहरु मतदातासमक्ष पुग्न सके त्यसको फाइदा उनीहरुलाई नै हुन्छ।

दलहरू तयार हुनुपर्छ

अरविन्द भुसाल, चिकित्सक

अरविन्द भुसाल, चिकित्सक

चुनाव नयाँ जनादेश हो। यसलाई अवसरका रुपमा लिनुपर्छ। राजनीतिक विवाद र अस्थिरता अन्त्यका लागि पनि नयाँ जनादेश चाहिन्छ। तर अहिलेसम्म चुनावप्रति दलहरुको ठोस धारणा आएको छैन। यसले निर्धारित मितिमा चुनाव हुँदैन कि भन्ने शंशय बढाएको छ। दलहरु नयाँ जनादेशका लागि तयार हुनुपर्छ र उनीहरूले सच्चिने प्रतिबद्धता पनि गर्नुपर्छ। घोषित मितिमा निर्वाचन हुन नसके दलहरुप्रति जनताको विश्वास टुट्छ।

विस्तारै रौनक बढ्छ

विराज पौडेल, जेन-जी अभियन्ता

विराज पौडेल, जेन-जी अभियन्ता

लोकतान्त्रिक व्यवस्थामा दलहरु निर्वाचनबाट भाग्नु हुँदैन। मुख्य कुरा दलहरु निर्वाचनमा कसरी सहभागी हुन्छन् भन्ने हो। जेनजी  चाहनालाई आत्मसात् गरेर दलहरुले निर्वाचनको बाटो तय गर्नुपर्छ। दलहरु सच्चिएर अघि बढ्छन् र जेनजीले अघि सारेका माग सम्बोधन हुन्छन् भन्ने हो। जेनजीहरुले दलहरुबाट गरेको अपेक्षा यही हो। अब नयाँ जनादेशबाट मुलुकलाई चलाउनुपर्छ। विस्तारै चुनावी वातावरण बन्दै छ।

प्रकाशित: १ मंसिर २०८२ ०८:०२ सोमबार