राजनीति

चुनावी चर्चा: छैन चुनावी चटारो, मेलोमा मग्न मतदाता

जेनजी आन्दोलनको बलमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा गरेको दुई महिना बढी भयो। टेलिभिजन, रेडियो, पत्रपत्रिका, फोनको ब्याक टोन, सामाजिक सञ्जाल र सरकारी भाषामा नजिकिँदै आएको भनिएको निर्वाचनको चटारो दुर्गम गाउँमा भने खासै देखिँदैन। राजनीतिक अन्योल, दलीय खिचातानी र दलभित्र पनि पदका लागि भइरहेको खिचातानीले गाउँका मतदातासम्म चुनावी रौनक पुग्न सकेको छैन।

‘विगतममा चुनाव हुँदा के भयो र? अब पो के होला र?’ मतदाताको प्रश्न यस्तै छ। पश्चिम नेपालको पहाडी जिल्ला प्युठानमा यतिबेला निर्वाचनको चटारो छैन। कम्युनिस्ट नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापा, दुर्गा पौडेलसँगै पछिल्लो समय पत्रकारिताबाट राजनीतिमा उदाएका सूर्य थापा समय समयका यहाँका ‘अघोषित मुखिया’ हुन्। यी मुखियासँग पटकपटक सामीप्य भएका सर्वसाधारण जिल्लावासीलाई आधारभूत मौलिक हकसम्म मात्र पाए ठुलै हुन्थ्यो भन्ने लागेको छ।

झिमरुकका फाँटमा किसानलाई अन्न भित्र्याउन भ्याइनभ्याई छ। डाँडोमा बसेका स्वर्गद्वारी महाप्रभुले रक्षा गरुन भन्दै प्युठानवासी आफ्नो मेलोमा मग्न छन्। अहिले शान्तसँग बसेको प्युठानलाई निर्वाचनले अशान्त नबनाओस् भन्ने आमअपेक्षा छ। यतिबेला प्युठानीलाई निर्वाचन ‘कागलाई बेल हर्ष न विस्मात्’ जस्तै छ।

जिल्लामा राजनीतिक नेतृत्व गर्नेहरु पनि निर्वाचनबारे अलमलमा देखिन्छन्। राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने अहिलेसम्म निर्वाचनको सुनिश्चित दृष्य नदेखिएको बताउँछन्। ‘हामीले संसद् अभावको बोध गरेका छौं। हामी अझै निर्वाचनकेन्द्रित भएका छैनौं। सरकारले दलहरुलाई साथमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ।’

न्यौपानेका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा अदालतको फैसला आएपछि मात्र निर्वाचनको वातावरण बन्छ। उनी सुरक्षा निकायमाथि प्रश्न उठेको समयमा ढुक्कले निर्वाचनमा जान सक्ने वातारण नभएको बताउँछन्। ‘अपराधी र हतियार राज्यको नियन्त्रभन्दा बाहिर छन्। राज्यले तिनको व्यवस्थापन गर्नुपर्छ।’

नेपाली कांग्रेस प्युठानका सभापति विष्णु गिरी सरकारले न्यूनतम वातावरण बनाएमा निर्वाचनमा जान तयार भएको बताउँछन्। ‘ग्रामीण भेगमा चुनाव लागेको छैन। चुनावी कार्यक्रम भएका छैनन्। मतदाता नछुटुन भनेर नामावलीमा लेखाउन अलिक चासो दिएका छौं।’

उनले भागेका कैदी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती भएको बताए। ‘सरकारले सुरक्षाको वातावरण बनाउनुपर्‍यो। प्रहरीबाट खोसिएका हतियारले त्रास बढाएको छ।’

नेकपा एमाले प्युठानका अध्यक्ष विजयविराज विष्ट प्युठानमा मात्र नभएर देशैभरि अन्योल भएको बताउँछन्। ‘दललाई चुनाव लाग्यो, लागेन भन्नुभन्दा पनि भयरहित वातावरणमा चुनाव नभए निष्पक्षतामा प्रश्न उठ्नेछ। चुनावसँग डराउनुपर्ने छैन तर वातावरण राज्यले बनाएको छैन। चुनाव चिह्न लिएर मात्र चुनाव हुने हैन। विश्वसनीय वातावरण तयार नहुनुले निर्वाचन हुनेमा आशंका बढेको हो।’ उनले चुनावको परिस्थिति सरकारले बनाउन नसकेको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टी र जेनजीको प्युठानमा खासै प्रभाव नदेखिए पनि उनीहरू प्रभाव विस्तार प्रयासमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका अध्यक्ष विकास पोख्रेलले अरू दललाई चुनाव नलागे पनि आफूहरूलाई लागिसकेको बताए। ‘प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दाले चुनवी रौनक ओझेलमा परेको छ। हामी त चुनावमा लागेका छौं। जनतामा पुराना दलप्रतिको लगाव घटेको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा सबैको असन्तुष्ट मत हामीलाई आउँछ। अवस्था राम्रै छ।’

निर्वाचन कार्यालय प्युठानमा पनि खासै चुनावी चहलपहल देखिँदैन। कार्यालय प्रमुख रिमानसिंह पुनले नयाँ मतदाता उत्साहजनक रुपमा नाम लेखाउन आइरहेको भने अभिलेखमा असोज ९ देखि कात्तिक २९ गतेसम्म ६ सय ९ पुरुष र ३ सय ३७ महिला गरी ९ सय ४६ नयाँ मतदाता थपिएको देखिन्छ।

प्युठान जिल्ला प्रहरी प्रमुख नरहरि अधिकारी देशका विभिन्न कारागारमा रहेका प्युठानका १२/१५ जना कैदी भागेको बताउँछन्। उनले सुरक्षाका हिसाबले निर्वाचन गराउन समस्या नभएको बताए।

पछिल्लो पटक २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादी–जनमोर्चासहितको गठबन्धनबाट उम्मेदवार बनेकी जनमोर्चाकी दुर्गा पौडेललाई हराउँदै एमालेका सूर्य थापा विजयी भएका थिए। थापाले ४१ हजार १ सय १८ मत र पौडेलले ३५ हजार ८ सय ४४ मत पाएका थिए।

पुरानै दल हाबी

पार्वता आचार्य, अधिकारकर्मी

पार्वता आचार्य, अधिकारकर्मी

जिल्लामा निर्वाचनका लागि दलहरूको तयारी देखिँदैन, उत्साह पनि छैन। गत निर्वाचनमा प्युठानमा एमाले पहिलो बनेको थियो। अब पनि प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादी केन्द्रबिचमै हुने हो। प्युठानमा नयाँ दलहरूको खासै प्रभाव देखिँदैन। बजार क्षेत्रमा जेनजी भन्ने छन् तर तिनको प्रभाव छैन।

मतदातामा छैन उत्साह

सुवास जिसी, स्वास्थ्यकर्मी

सुवास जिसी, स्वास्थ्यकर्मी

मतदाता पनि निर्वाचनप्रति उत्साहित देखिँदैनन्। विगतका चुनावबाट खासै जनहितका पक्षमा काम हुन नसकेपछि मतदाता निराश बनेका हुन्। धेरैले जसले जिते पनि जनहितमा केही होला जस्तो छैन भन्छन्। जनप्रतिनिधि उत्तरदायी नबन्दा निराशा बढेको हो। अहिलेसम्म जिल्लामा चुनावको रौनक छैन।

अलमलमै छन् दल

सुशील पोख्रेल, नागरिक अगुवा

सुशील पोख्रेल, नागरिक अगुवा

प्युठानमा चुनाव चहलपहल सुरु भएको छैन। दलहरूमा केन्द्रीयस्तरमै भएको अलमलले जिल्लामा पनि अन्योल छ। चुनाव भए पुरानै ठुला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबिचमै प्रतिस्पर्धा हुने देखिन्छ। प्युठानमा पहिला जनमोर्चा पनि बलियो दल हो तर उसको प्रभाव निकै घटेर गएको छ।

चुनाव हुन्छ जस्तो छैन

सन्देश आचार्य, अध्यक्ष, उद्योग वाणिज्य संघ

सन्देश आचार्य, अध्यक्ष, उद्योग वाणिज्य संघ, प्युठान

निर्वाचनको सरगर्मी देखिएको छैन। सरगर्मी बढ्न दलहरूले सक्रियता बढाउनुपर्छ। अहिलेसम्म त्यस्तो भएको छैन। सम्भवतः निर्वाचन हुँदैन होला, भयो भने पनि पुरानै दलबिच प्रतिस्प्रर्धा हुन्छ। अघिल्लो निर्वाचनमा एमालेले एक्लै जितेको थियो। यहाँ मत र मतदाताको अवस्था फेरिएको जस्तो देखिँदैन।

नयाँप्रति आकर्षण छैन

श्रीराम भण्डारी, अध्यक्ष, पत्रकार महासंघ प्युठान

श्रीराम भण्डारी, अध्यक्ष, पत्रकार महासंघ प्युठान

निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गरिरहेको छ। दलहरु आन्तरिक छलफलमा छन्। उनीहरू चुनावका लागि तयार भए पनि रौनकचाहिँ आएको छैन। सुरक्षा व्यवस्था चुस्त भए रौनक आउँला। केहीले सामाजिक सञ्जालबाट नयाँनयाँ भने पनि नयाँ दलप्रति मतदाताको आकर्षण छैन।

प्रकाशित: ४ मंसिर २०८२ ०७:५४ बिहीबार