निर्वाचन विशेष

चुनावी चर्चा : कैलाली-१ मा पुरानै दलबिच प्रतिस्पर्धा

कैलालीको पूर्वी क्षेत्र थारु बाहुल्य क्षेत्र

प्रतिनिधि सभाका लागि २०७९ सालमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ एक्लैको मत अरू सबै उम्मेदवारले प्राप्त गरेको जम्मा मतकै हाराहारीमा थियो। 

उनले ३० हजार ४०४ मत पाएकी थिइन भने अरू सबै उम्मेदवारले पाएको मत जोड्दा ३० हजार ४७४ हुन्छ। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका थिए। चौधरी तत्कालीन कांग्रेस, माओवादी, एकीकृत समाजवादीको संयुक्त गठबन्धनका उम्मेदवार थिए। 

त्यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार ६४८, रास्वपाका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका थिए। अन्य उम्मेदवारहरूले ५०० मत पनि कटाउन सकेका थिएनन्। 

समानुपातिक मत तर्फ नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा २७ हजार ४०६ र प्रदेश सभामा २७ हजार २०० थियो। कांग्रेसको प्रतिनिधि सभामा ११ हजार ३९५ र प्रदेश सभामा ११ हजार ४९९, माओवादीको प्रतिनिधि सभामा ७ हजार ९९२ र प्रदेश सभामा ७ हजार २४८, एमालेको प्रतिनिधि सभामा ५ हजार २१५ र प्रदेश सभामा ५ हजार ७०६, राप्रपाको प्रतिनिधि सभामा ४ हजार १०३ र प्रदेश सभामा ४ हजार ४३० र रास्वपाको २ हजार ५१७ मत रहेको थियो। 

त्यस्तै एकीकृत समाजवादीको प्रतिनिधि सभामा ७३३ र प्रदेश सभामा १ हजार ४३४ र जनता समाजवादीको प्रतिनिधि सभामा ७४५ र प्रदेश सभामा १ हजार ३३ मत थियो। 

नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत लगभग बराबर नै छ। तर, उम्मेदवार श्रेष्ठले प्राप्त गरेको मत समानुपातिक मत भन्दा ३ हजारले बढी छ। उनले अन्य पार्टीका मत समेत आफ्नो पक्षमा तान्न सफल भएको देखिन्छ। सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठ लोकप्रिय मतका साथ विजयी भएकी थिइन। 

उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत बनिन्। प्रजातन्त्र पुनर्स्थापना पश्चात् कैलालीको क्षेत्र नम्बर १ बाट क्याबिनेट मन्त्री बन्ने उनी एक मात्र जनप्रतिनिधि हुन। पञ्चायत कालमा स्वर्गीय खड्गबहादुर सिंह क्याबिनेट मन्त्री बनेका थिए। यस क्षेत्रबाट राज्यमन्त्री भने तीन जना बनेका थिए। कांग्रेसबाट सुशीला स्वाँर, जनकराज चौधरी र चन्द्रसिंह भट्टराई रहेका छन्।

२०७९ मा लोकप्रिय मतका साथ विजयी भएकी श्रेष्ठले २०८२ मा भने दल विलय गरिन। उनले नेपाली कम्युनिस्ट पार्टीमा दल विलय गरेकी हुन। पार्टीका संरक्षक अर्थात् श्रीमान् रेशमलाल चौधरीसँगको मनमुटाबपछि उनले दल विलय गरेकी हुन। 

चौधरीले भने नागरिक उन्मुक्ति पार्टी नेपाल नामक दल दर्ता गरेका छन्। उनले फागुन २१ गते हुने आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए। तर निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरिदिएको छ। 

उनले आफ्नो उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुलाई सहयोग गर्ने स्रोतले बताएको छ। उनले थारुलाई आफ्नो उम्मेदवारी खारेज भए विकल्पका रूपमा अघि सारेको बताइन्छ। 

यतिबेला श्रीमान् चौधरी र श्रीमती श्रेष्ठ आमनेसामने उभिएका छन्। श्रेष्ठले टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएका रामलाल डगौरा थारुलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएकी छन्। थारु नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार छन्। 
तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट थप दुई जना समेत प्रतिनिधि सभाको उम्मेदवार छन्। उज्यालो नेपाल पार्टीबाट जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप कुमार चौधरी र रास्वपाबाट कोमल ज्ञवाली हुन। 

नागरिक उन्मुक्ति पार्टी थारु समुदायका मुद्दा बोकेर स्थापना भएको हो। २०७२ सालमा भएको टीकापुर घटनामा दोषी देखिएका रेशमलाल चौधरीको रिहाइको माग पनि पार्टीको एक मुद्दा थियो। यही मुद्दालाई अघि सारेर रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी थिइन। उनले चुनाव मात्रै जितिनन् श्रीमान् रेशमलाल चौधरीलाई रिहा गराउन सफल भइन। चौधरी राष्ट्रपतिबाट आम माफी पाएर रिहा भएका हुन। 

कैलालीको पूर्वी क्षेत्र थारु बाहुल्य क्षेत्र हो। यहाँ झण्डै आधा थारु मतदाता छन्। विगतका केही चुनावमा थारु समुदायको अधिकांश मत एकलौटी गएको देखिन्छ। २०७९ को आम चुनावमा कैलालीको क्षेत्र नम्बर १ मात्रै नभई नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर २ र ३ मा समेत जितेको थियो। त्यति मात्रै हैन सो पार्टीले स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा समेत जितेको छ। 

आगामी फागुन २१ गते हुने आम चुनावमा थारु समुदायका मतदाता मात्रै हैन उम्मेदवार समेत धेरै छन्। जम्मा १८ जना मध्ये थारु समुदायका मात्रै ७ जना उम्मेदवार छन्। ठुलो दल नेपाली कांग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई अघि सारेको छ। उनी २०७० को निर्वाचनबाट संविधान सभा सदस्य भएका थिए। उनी मधेशी जनअधिकार फोरमबाट विजयी हुन। 

थारु उम्मेदवारको संख्या धेरै भएपछि मत विभाजन हुने आकलन गरिएको छ। थारु समुदायको मत विभाजन भए नेकपा एमालेले आफ्नो उम्मेदवार जित्ने आश बोकेको छ। एमालेले द्वारिका न्यौपानेलाई अघि सारेको छ। उनी २०७९ मा प्रदेश सभाको उम्मेदवार थिए। उनी पराजित भएका थिए। 

एमालेले कांग्रेसको पहाडिया मत आफ्नो पक्षमा आउने बताइरहेको छ। पहाडिया मतमा कांग्रेसको राम्रो पकड छ। कांग्रेस उम्मेदवार जनकराज चौधरी पहाडिया मतलाई विभाजन हुन नदिने रणनीतिमा छन्। उनले कांग्रेस समर्थक पहाडिया मतले साथ दिए सहजै चुनाव जित्ने अपेक्षा राखेका छन्। 

टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका रामलाल डगौरा थारु पनि आफू जित्नेमा ढुक्क छन्। उनी पूर्व माओवादी समेत हुन। यतिबेला माओवादी नेपाली कम्युनिस्ट पार्टी बनेको छ। थारु सोही पार्टीबाट चुनावी मैदानमा छन्। 
थारुले साबिकका नागरिक उन्मुक्ति, माओवादी र एकीकृत समाजवादीको मत एकत्रित भए आफ्नो जित्ने आधार देखेका छन्। 

तर नागरिक उन्मुक्तिका संरक्षक र अध्यक्षबिचको विवादले मतदातामा समेत विभाजन हुने धेरैको दाबी छ। उम्मेदवारहरू थारु मतलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन्। 

उज्यालो पार्टीबाट उम्मेदवार रहेका जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले थारु समुदायको राम्रो मत आफ्नो पक्षमा पार्न सक्ने स्रोतको दाबी छ। उनी कांग्रेसको राजनीति गरेका व्यक्ति हुन। उनलाई जानकी गाउँपालिकाका वर्तमान अध्यक्ष गणेश चौधरीको समेत साथ रहेको बताइन्छ। 

आफ्नो उम्मेदवारी खारेज पश्चात् आक्रोशित बनेका रेशमलाल चौधरी पनि चुप लागेर बस्ने अवस्था देखिन्न। उनी आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्दो प्रयास गर्नेछन्। यो क्षेत्र उनका लागि प्रतिष्ठाको विषय बन्नेछ। किनकि नागरिक उन्मुक्तिको जन्म उनकै संरक्षकत्वमा भएको हो। उनी आफै पनि २०७४ को निर्वाचनमा भूमिगत अवस्थामै ३४ हजार ३४१ मतले विजयी भएका थिए। उनको यो मत अरू सबै उम्मेदवारले पाएको मत भन्दा बढी थियो। 

यसअघिका केही निर्वाचनमा जितहारको अनुमान मतदान अघि नै गर्न सकिन्थ्यो। तर यस पटकको निर्वाचनमा भने त्यस्तो अनुमान गर्न सक्ने अवस्था छैन। कांग्रेस, एमाले र नेकपाकै उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुने अनुमान भने गर्न सकिन्छ। 

अहिले नयाँ दलका रूपमा चर्चामा रहेको रास्वपा भने कैलाली क्षेत्र नम्बर १ मा निकै कमजोर देखिन्छ। नागरिक उन्मुक्ति पार्टीबाट आएकी कोमल ज्ञवालीलाई उम्मेदवार बनाए पछि रास्वपाका स्थानीय नेता कार्यकर्ता रुष्ट देखिएका छन्। उनीहरू अहिलेसम्म पनि खुलेर आफ्नो उम्मेदवारको पक्षमा उभिएको देखिँदैन। रास्वपाले समानुपातिक तर्फ भने राम्रो मत प्राप्त गर्न सक्ने देखिन्छ।

प्रकाशित: १९ माघ २०८२ १३:३९ सोमबार