नेपाली सेनाले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुने जनाएको छ। त्यसको लागी सेनाले सबै निकायसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षा व्यवस्थामा प्रतिबद्ध रहेको बताएको छ ।
निर्वाचनको लागी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ बमोजिम सञ्चालन भएका छन् भने स्थापित प्रोटोकलअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी हुने बताइएको छ ।
वि सं २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन हुँदै आएको भन्दै सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट देशभरका निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो सुरक्षा घेरामा रही सुरक्षा प्रदान गर्ने तथा मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी गराएको छ।
साथै नेपाली सेनाले विगतका निर्वाचनहरू जस्तै यसपटक पनि कानुन र सुरक्षा मापदण्डअनुसार निष्पक्ष र प्रभावकारी सुरक्षा व्यवस्था मिलाइने जनाएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:१६ आइतबार