राजनीति

चुनावी चर्चा: मत बदल्ने सोचमा तन्नेरी पुस्ता

धनगढी उपमहानगरपालिका वडा नं ५ बस्ने मन्जु चौधरीले २०७९ सालको निर्वाचनभन्दा केही महिनाअघि मतदाता नामावलीमा नाम दर्ता गराइसकेकी थिइन्। निर्वाचनका दिन धनगढीमै भएकी उनी काममा गइन् तर मतदान गर्न गइनन्। राजनीतिमा चासो नभएकाले उनलाई मतदान गर्न जान मन लागेन्। गत भदौको जेनजी आन्दोलनपछि भने उनको सोच बदलिएको छ। राजनीति र निर्वाचनका विषयमा उनको चासो बढेको छ।

‘राजनीतिप्रति कुनै चासो नै थिएन, त्यसैले गएको चुनावमा मतदान गर्न गइनँ’, चौधरीले भनिन्, ‘जेनजी आन्दोलनपछि राजनीतिबारे बुझ्दै छु, चुनावमा राम्रा व्यक्तिलाई जिताएर नपठाउँदा जनताले दुःख भोग्नुपर्दो रहेछ। गलत व्यक्ति निर्वाचित हुँदा जनताको भविष्य अन्धकार हुने रहेछ। अबको निर्वाचनमा मतदान गर्न जान्छु, राम्रो व्यक्ति छानेर भोट हाल्छु। राम्रालाई जिताए देशको विकास हुने हो’, उनले भनिन्।

धनगढी वडा नं ७ कि सिर्जना नामजली मगरको अघिल्लो निर्वाचनमा भोट हाल्न उमेर पुगको थिएन्। यसपटक उनले भोट दिन पाउँछिन्। ‘अहिले भोट हाल्न पाउँछु। निर्वाचनबाट राम्रा मान्छे जिताउन हामीले चासो दिनुपछै’, उनले भनिन्, ‘देश र जनताको भविष्य बदलिने भनेकै निर्वाचनबाट हो, राम्रा व्यक्तिलाई जिताउन लाग्ने हो।’

निर्वाचनका बेला विवेक पुर्‍याएर राम्रो व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने महसुस जेनजी आन्दोलनपछि भएको उनले बताइन्।

गौरिगंगा गाउँपालिका वडा नं ३ कि विनिता नेपालीले यस पटक प्रदेश निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएक छन्।

उनले भनिन्, ‘अबको निर्वाचनमा जनताको समस्या बुझेर इमानदारीपूर्वक काम गर्ने मान्छे रोजर मत दिने सोचमा छु।’

विगतका निर्वाचनमा खासै मतलब नराखेको बताउने गणेश पनेरु अबको निर्वाचनमा विवेक पुर्‍याएर मत हाल्ने बताउँछन्। ‘मेरो घरमा ९ मत छन, मेरो मात्र होइन्, मेरो परिवारका सबै मत अब देश बनाउने व्यक्तिलाई हाल्न लगाउछु’, उनले भने।

यी प्रतिनिधि उदाहरण मात्र हुन्। जेनजी आन्दोलनपछि तन्नेरी पुस्ताको राजनीतिप्रति आकर्षण बढेको पाइएको छ। निर्वाचनमा मत कसरी सदुपयोग गर्ने, आफ्नो क्षेत्रबाट को उम्मेदवार बन्छ भन्ने विषयमा यो पुस्ता जागरुक देखिन्छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट यस पटक युवामा राजनीतिप्रति अलि आकर्षण बढेको पाइएको बताउँछन्। पहिले मतदाता नामावलीमा नाम दर्ता गर्न चासो नदिने युवा यस पटक नाम लेखाउन लागिपरेको उनले बताए।

‘विगतमा मतदाता नामावलीमा नाम लेखाउन युवाले खासै रुचि राख्दैनथे’, उनले भने, ‘अहिले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकत्तर युवा छन, फाटफुट मात्र अरु छन्।’ कैलाली ६ हजार नयाँ मतदाता थपिएको जानकारी उनले दिए।

नयाँ पनि छिन्नभिन्न

कैलाली जिल्लाका मतदाताले तीन वर्षअघि २०७९ सालको निर्वाचनमा मत बदल्दा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा सोचेभन्दा फरक नतिजा आयो। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा पुराना राजनीतिक दललाई किनारा पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित हात पार्न सफल भए। कैलालीका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्य ३ वटा, प्रदेशसभाका २० क्षेत्रमध्ये ५ वटा र स्थानीय तह १३ वटामध्ये ४ वटामा नागरिक उन्मुक्ति पार्टीले जित निकालेको थियो।

जेनजी आन्दोलनपछि सरकार बदलियो। नयाँ सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन मिति तोकिएको छ। निर्धारित समयमा निर्वाचन हुने वा नहुने अन्योल नै छ। निर्वाचन भएमा कैलालीको नतिजा के होला भनेर सबैतिरबाट चासोका साथ हेर्न थालिएको छ।

युवा पुस्ता पुराना नेताको विकल्प खोज्ने पक्षमा छ। युवा नयाँ दलको खोजीमा छन् तर जेनजी आन्दोलनपछि युवाको नेतृत्वमा शक्तिशाली एउटा नयाँ दल खुल्छ भन्ने आशा राखेका मतदाता निराश छन्। किनकी नेतृत्व गर्ने भनिएका युवा अलगअलग समूहमा विभाजित छन्। ‘पुराना दलका पुराना नेताहरुबाट आशा नै छैन्, युवाले पनि अलगअलग पार्टी दर्ता गरेपछि कसलाई छान्ने?’ मीरा रानाले भनिन्।

तन्नेरी पुस्तामा पनि व्यक्तिगत महत्त्वाकांक्षा र पदको लोभ देखिएपछि नयाँपन खोज्नेहरु पनि खुसी छैनन्।

‘पुराना राजनीतिक दलले सत्तास्वार्थ र व्यक्ति स्वार्थमा केन्द्रित भएर देश विकासमा ध्यान दिएनन् भनियो तर नयाँ भनिएकाहरुमा पनि दल बन्नुभन्दा पहिले नै पद लोलुपता, महत्त्वाकांक्षा छर्लंग देखियो’, तन्नेरी पुस्ताकै पनेरुले भने, ‘जुन जोगी आए पनि कान चिरेका भने झै हुने भयो।’

तन्नेरी पुस्ता एक हुनुको साटो छिन्नभिन्न हुदाँ पुराना दलको विकल्प खोज्ने मतदाता निराश भएको उनले बताए।

‘तन्नेरी पुस्ताले पनि गल्ती गर्दैछ। पुराना दललाई मत दिन नचाहने मतदाताले तन्नेरी पुस्ताले अलगअलग भएर दल दर्ता गरेको मन पराएका छैन’, नगारिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘मत बदल्न चाहेका मतदातालाई निराश पार्नु हुँदैन।’

पुराना दलको विकल्प दिन्छौं भन्नेहरू एक नभए फेरि पनि निर्वाचनबाट पुरानै दल आउने उनको विश्लेषण छ।

मतदाताको चाहनाविपरीत काम

संविधानसभामार्फत नयाँ संविधान बनाउने क्रममा राज्यपुनर्संरचना गर्दा साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भूगोलमा रहेका ९ जिल्लाको एउटा प्रदेश हुनुपर्छ भन्ने अखण्ड सुदूरपश्चि पक्षधर तथा कैलाली र कञ्चनपुरसहितको छुृट्टै थरुहट राज्य हुनुपर्छ भन्ने थरुहट पक्षले आन्दोलन चर्काएका थिए।

आन्दोलनकै क्रममा २०७२ भदौ ७ गते थरुहट पक्षधरले टीकापुरमा गरेको प्रदर्शनमा नेपाल प्रहरीका एसएसपीसहित ८ प्रहरी र एक नबालकको हत्या भयो। उक्त हत्याकाण्डमा संलग्न भएको आरोपमा रेशम चौधरीसहितलाई अदालतले दोषी ठहर गरेर जेल सजाय सुनायो। कारागारभित्र रहेकै बेला रेशम संरक्षक र उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी गठन भयो।

अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पुराना दललाई परास्त गर्दै जित हात पारेको थियो। सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ७ सिट जितेको नागरिक उन्मुक्ति पार्टीको तीन वर्ष किचलोमै बित्यो। रेशम र रञ्जिताबिच राजनीतिक शक्तिका लागि विवाद भइरह्यो। अहिले रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टी दर्ता गराएका छन्।

पहिचानको मुद्दा बोकेकाले जनताले तीन वर्षअघिको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई जिताएको टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक बालकुमार चौधरी बताउँछन्। ‘अहिले पार्टी विभाजनलाई मतदाताले मन पराएका छैनन्’, उनले भने।

अपेक्षाविपरी शक्तिका लागि पतिपत्नीबिचमै भएको टकरावलाई मतदाताले मन नपराएको उनले बताए।

कैलालीमा गत निर्वाचनमा जस्तो परिवेश अहिले नरहेको अर्का सहप्राध्यापक नाथुराम चौधरीको भनाइ छ। मत बदलेर जिताएका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र रञ्जिता श्रेष्ठका क्रियाकलाप अपेक्षाकृत नभएकाले मतदाता सन्तुष्ट नरहेको उनले बताए। ‘पहिले पहिचानको मुद्दा पनि थियो, एउटा सेन्टिमेन्ट पनि थियो, मतदाताले नागरिक उन्मुक्ति पार्टीलाई भोट दिएका हुन्’, सहप्राध्यापक नाथुरामले भने, ‘चाहना, अपेक्षाविपरीतका क्रियाकलापले मतदाता निराश छन्।’

विदेशबाटै नेपालीले भोट दिन पाउनुपर्ने

रोजगारीका लागि विभिन्न देशमा गएका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुनुपर्ने यहाँका मतदाताको भनाइ छ। बाध्यताले विभिन्न देशमा पुगेका नेपालीलाई मतदानको व्यवस्था मिलाइनुपर्ने टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक मिनबहादुर शाहीले बताए।

नागरिक समाजका अगुवा पाठक पनि विदेशमा रहेका नेपालीलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत हाल्न पाउने व्यवस्था गरिनुपर्ने बताउँछन्। ‘विदेशमा रहेका नेपालीले पठाएको पैसा हामीले चलाउने तर तिमीहरूले भोट हाल्न पाउँदैनौं भन्न मिल्दैन’, उनले भने, ‘उनीहरू बाध्यताले विदेश गएका हुन्।’

सर्वोच्व अदालतले १० वर्ष पहिले नै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइनुपर्ने फैसला गरे पनि पुराना दलले नदिएको उनले बताए।

पद्धतिका पक्षमा युवा

देशमा भ्रष्टाचार, कुशासन र जुनसुकै ठाउँमा पनि काममा ढिलासुस्ती, कमिसन, भनसुन लगायतका बेथिति छ। सुशासनका लागि पद्धतिको विकास गर्नुपर्ने मतदाताको भनाइ छ। उनीहरू यसैको पर्खाइमा छन्। ‘सिस्टम अनुसार देश चलाउन सक्ने नयाँ नेतृत्व चाहिएको छ’, सहप्राध्यापक नाथुराम भन्छन्, ‘युवा पुस्ताले पुरानो राजनीतिक नेतृत्व चाहेको छैन।’ अहिलेको जकडिएको प्रणालीमा आमूल सुधार गर्न सक्ने नेतृत्व आवश्यक रहेको मतदाता बताउँछन्।

दलका नेता मात्र होइन, कर्मचारीतन्त्रमा पनि सुधारको आवश्यकता रहेको मतदाताको भनाइ छ। कर्मचारीले नै नेताहरुलाई भ्रष्टाचार गर्न सिकाएको उनीहरुको बुझाइ छ। ‘कर्मचारीले नै भ्रष्टाचार गर्न, पैसा खान नेताहरुलाई सिकाउने गर्छन्, कर्मचारीतन्त्रमा पनि सुधार गर्नुपर्छ’, युवा व्यवसायी किशोर जोशी भन्छन्।

अझै चुनावकेन्द्रित छैनन् दल

सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर वडा, पालिका र जिल्लास्तरीय प्रदर्शन गरेको कैलालीका अध्यक्ष यज्ञ ढुंगानाले बताए। उनका अनुसार अहिले पार्टीका नेता र कार्यकर्ता महाधिवेशन प्रतिनिधि छनोटमा केन्द्रित छन्।

नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले पनि चुनाव केन्द्रित गतिविधि सुरु नभएको बताए। जेनजी आन्दोलनमा आगो लगाइएको पार्टी कार्यालय सञ्चालनमा ल्याइएको र नेता–कार्यकर्ता विशेष कि नियमित महाधिवेसनको छलफलमै रहेको उनले बताए।

नेपाली कम्युनिस्ट पार्टीका नेता उद्धव भट्टराई पनि चुनाव केन्द्रित गतिविधि सुरु नभएको बताउँछन्। मंसिर १२ गते पार्टी एकता घोषणासभाको तयारी भैरहेको उनले बताए।

चुनावबाटै निकास र विकार्स

प्रमोद पाठक, अगुवा, नागरिक समाज

प्रमोद पाठक, अगुवा, नागरिक समाज

युवा पुस्ताले भ्रष्टाचार, लुटविरुद्ध आन्दोलन गरेको हो। देश बनाउन चाहेमा १० वर्षमै बन्छ। भारतमा मोदी १० वर्षमै जनताको मनमा बस्न सफल भए, देश पनि बनाए तर हाम्रो देशमा राजनीतिज्ञ र कर्मचारी मिलेर लुटेर मात्र खाए।

दलमा मात्र होइन, कर्मचारीतन्त्रमा पनि सुधार गर्नु आवश्यक छ। निर्वाचनको तयारी गर्न प्रशस्त समय छ। निकास र विकासका लागि निर्वाचन हुनुपर्छ। विदेशमा रहेका नेपालीलाई पनि मतदान दिने व्यवस्था गरिनुपर्छ। उनीहरुलाई मताधिकारबाट वञ्चित गरिनु हुँदैन। युवा फुटेर निर्वाचनमा गए पुरानै राजनीतिक दलले जित्ने देखिन्छ। युवा मिल्नुपर्छ।

वैकल्पिक शक्तिहरू मिल्नुपर्छ

राजेन्द्रविर चन्द, प्राध्यापक

राजेन्द्रविर चन्द, प्राध्यापक

परिवर्तनका लागि नेपाली जनताले पटकपटक संघर्ष गरे। परिवर्तन पनि भयो तर जनताको अपेक्षाबमोजिम काम भएन। २०४७ सालपछि माओवादीको विद्रोह पनि सत्ताप्रतिको असन्तुष्टिकै कारण थियो। पछि माओवादी सत्तामा पुग्यो तर जनताको अवस्था फेरिएन। अन्य मुलुकको विकास देखेका युवाले देशको अवस्था चित्त नबुझेपछि जेनजी आन्दोलन भएको हो। जेनजी आन्दोलनको माग जायज छ। जेनजी आन्दोलनको मर्मअनुसार निर्वाचन हुुनुपर्छ, मुलुक चल्नुपर्छ। अब पुराना दल पनि सुध्रिनुपर्छ। वैकल्पिक भनिएका शक्तिहरु मिल्नुपर्छ तर मिल्ने अवस्था छैन।

निकासका लागि निर्वाचन हुनुपर्छ

मिनबहादुर शाही, सहप्राध्यापक

मिनबहादुर शाही, सहप्राध्यापक

फागुनमा चुनाव हुनैपर्छ। पुराना दलले युवा नेतृत्वलाई अघि सार्नुपर्छ। विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने व्यवस्था मिलाइनुपर्छ तर पुराना दलले विदेशमा रहेका युवालाई मतदानको अधिकार दिन चाहेका छैनन्।

जेनजी आन्दोलन युवा पुस्ताको अभियान भए पनि त्यसमा सबै सहभागी थिए भन्न सकिन्छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका लागि दलका नेता सुध्रिएर मात्र हुँदैन। कर्मचारीतन्त्रमा पनि सुधार हुनुपर्छ। शक्तिमा पुगपछि शासक बन्ने सोच छ। यसमा सुधार हुनुपर्छ। राज्य सञ्चालन विधिका आधारमा हुनुपर्छ। जनप्रतिनिधि जवाफदेही हुनुपर्छ।

नयाँको खोजीमा जनता

नाथुराम चौधरी, सहप्राध्यापक

नाथुराम चौधरी, सहप्राध्यापक

जनताले देशमा नयाँ नेतृत्व खोजेका छन्। त्यसका लागि नयाँ योग्य अनुहार चाहिन्छ। नयाँ पुस्ताले सुशासन चाहेको छ। पुराना दलहरुले नयाँ पुस्तालाई अवसर दिने सम्भावना कम देखिन्छ। निर्वाचनबाट नयाँ सोच भएको, सुशासन कायम गर्न सक्ने, पद्धतिमा देश चलाउन सक्नेलाई जिताउनुपर्छ।

आमजनताको चाहना पनि यही छ। जेनजी आन्दोलन युवा पुस्ताले जुन अपेक्षा राखेर गरेका थिए, त्यो पूरा हुन सकेको छैन। युवा पुस्ताले पनि अलगअलग भएर दल दर्ता गराउँदा जनतामा यिनीहरू पनि पुराना जस्तै हुने हुन् कि भन्ने सन्देश गैरहेको छ। निर्वाचन परिवर्तनका लागि हुनुपर्छ। निर्वाचनबाट कस्तो परिणाम आउँछ त्यो त अहिले भन्न सकिँदैन।

राम्रा मान्छे चुन्नुपर्छ

वीनिता नेपाली, विद्यार्थी

वीनिता नेपाली, विद्यार्थी

जेनजी आन्दोलनलाई नजिकबाट हेर्‍यौं। निर्वाचनबाट राम्रा मान्छे चुन्नुपर्छ। उमेर पुगेर मतदाता नामावलीमा सूचीकृत सबैले मतदान गर्नुपर्छ। सहि निर्णय गर्न सक्नुपर्छ। अबको निर्वाचनमा राम्रै मान्छे चुनिएलान् जस्तो लागेको छ। जेनजी आन्दोलनका माग जायज छन्। युवा पुस्ताले सुशासन चाहेको छ। त्यो माग र अवाज जेनजी आन्दोलनमा प्रकट भएको हो। पुराना दलले सत्तामा पुगेपछि जनताका समस्या समाधान गर्र्नेतर्फ ध्यान दिएनन्, सत्तामा जानुभन्दा पहिला बाँडेको सपना पूरा गरेनन्। लोभी र स्वाथी होइन देशको लागि त्याग गर्न सक्ने, नयाँ सोच भएका व्यक्तिलाई जिताउनुपर्छ।

सुधार नभए निराशा बढ्छ

मन्जु चौधरी, मतदाता

मन्जु चौधरी, मतदाता

गलत मान्छेलाई जिताएर पठाउँदा समस्या आउँदो रहेछ। निर्वाचनबाट राम्रा मान्छे चुनेर पठाउनुपर्छ। अबको निर्वाचन परिवर्तनका लागि होला जस्तो लागेको छ। जस्तोसुकै काम परे पनि मैले मतदान  गर्न जाने सोच बनाएकी छु। देशमा भ्रष्टाचार र कुशासन बढ्दा हाम्रो भविष्य अन्धकार हुँदैछ।

अब सुशासन र विकासका लागि निर्वाचन हुनुपर्छ। देशमा भविष्य नदेखेर विदेश जाने सपना देख्नुपरेको छ। निर्वाचनबाट देश बनाउने सोच भएका राम्रा व्यक्तिलाई छानेर देश चलाउने जिम्मा दिनुपर्छ। फेरि पनि देशको अवस्था सुधार नभए युवामा थप निराशा उत्पन्न हुनेछ।पुरानाबाट आश छैन

सिर्जना नामजली मगर, विद्यार्थी

सिर्जना नामजली मगर, विद्यार्थी

देशमा भ्रष्टाचार, कुशासन मौलायो। पैसा नहुनेले बिरामी हुदाँ उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आयो। अहिले पनि शिक्षाको अवस्था त्यस्तै छ। पहुँच नभएका व्यक्तिलाई कुनै पनि सेवा, अवसर र सुविधा पाउन गाह्रो छ। सरकारले सामाजिक सञ्जाल पनि बन्द गरिदिएपछि युवाको आक्रोश पोखिएर जेनजी आन्दोलन भएको हो। पुरानै सोचले अब समस्या समाधान हुँदैन। पुराना नेताबाट आश गर्ने ठाउँ छैन। देश बनाउने सोच भए युवा पुस्ताको भावना बुझ्नेहरू मिल्नुपर्छ। हामी युवाले नेपालमै खुशीसाथ बस्न विकास चाहेका छौं। देशमा सुधार गर्ने नेता हामीलाई चाहिएको छ।

प्रकाशित: १० मंसिर २०८२ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App