राजनीति

निर्वाचन २६ दिन बाँकी : १० उम्मेदवारले स्पष्टीकरण बुझाएनन्

आचारसंहिता उल्लघंन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्। आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्।

आयोगले कूल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नदिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले आचारसंहिताको प्रभावकारी पालना गराई उल्लघंनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्।

जिल्ला स्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चित गर्न निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ।

जिल्लामा प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ।

जिल्ला स्तरमा प्राप्त भएका आचारसंहिता उल्लघंनका सम्बन्धमा प्राप्त उजुरीलाई आवश्यक कारबाही गरिएको आयोगले जनाएको छ। रासस

प्रकाशित: २४ माघ २०८२ ०६:२८ शनिबार