राजनीति

शिक्षामन्त्रीको चिन्ता: ‘आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन्।

आज यहाँ आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण समारोहमा उनले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे।

मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औंल्याए।

“पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ। हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ। आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्”, उनले भने, “साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो। नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ।”

पछिल्लो समय मानविकी सङ्कायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए।

“हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ। यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो”, उनले भने।

प्रकाशित: ७ भाद्र २०८२ १७:३५ शनिबार