भोटेकोसी बाढीका कारण १६ शिक्षक र २१७ विद्यार्थी अझै सम्पर्कविहीन रहेको तथा झन्डै १० हजार बालबालिकाको सिकाइ अवरुद्ध भएको पृष्ठभूमिमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन्।
मन्त्री पोखरेलसहितको टोलीले आइतबार नुवाकोटका बाढीग्रस्त शैक्षिक संस्था, पूर्वाधार र अस्थायी शिविरहरूको स्थलगत अनुगमन गरेको हो।
अनुगमन टोलीमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिहरूको सहभागिता थियो।
मन्त्रीद्वयले बाढीले पुर्याएको भौतिक क्षति, विद्यालय सञ्चालनको सम्भाव्यता र विद्यार्थीको शैक्षिक अवस्थाबारे स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ, विदुरबाट सुरु भएको अनुगमनका क्रममा टोलीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारी क्षेत्रस्थित बाढी प्रभावित स्थानको अवलोकन गरेको थियो।
यस्तै, न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर, सामुदायिक बहुउद्देश्यीय भवन, विदुर कभर्डहल, चन्द्रज्योती माध्यमिक विद्यालय र अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको क्षतिग्रस्त भवनहरूको समेत निरीक्षण गरिएको थियो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
विपद्का कारण ९ हजार ७४२ विद्यार्थीको नियमित पठनपाठन ठप्प भएको छ भने ठूलो संख्यामा शिक्षक र विद्यार्थी सम्पर्कविहीन छन्।
सरकारले बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई यसअघि नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
निरीक्षणका क्रममा शिक्षामन्त्री पोखरेलले प्रभावित विद्यालयका विद्यार्थीहरूको पठनपाठन चाँडोभन्दा चाँडो सुचारु गर्न आवश्यक शैक्षिक सामग्री र वैकल्पिक सिकाइको व्यवस्था मिलाउन सरकारले तत्काल पहल गर्ने बताए।
प्रकाशित: २३ भाद्र २०८३ १८:४५ मंगलबार