राजनीति

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेका छन्। 

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई कसरी प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान र समुदायस्तरमा जनचेतना विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको हो। 

अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्य, त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रिय विभाग, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ, सामाजिक अभियान्ता, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

 सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले शिक्षा प्रणालीमार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम तथा आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले मानसिक समस्यालाई शारीरिक समस्याकै रुपमा महत्व दिएर सचेतना अभिवृद्धि गर्न जरुरी भएको औंल्याए। 

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले मानसिक स्वास्थ्य आजको समाजको गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै यससम्बन्धी विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्ने बताए। 

उनले  मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा प्रभावकारी रूपमा समावेश गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय र विश्वविद्यालयमा मनोसामाजिक परामर्श सेवा विस्तार, मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आवश्यक सहजीकरणका उपायहरूबारे मन्त्रालय सकारात्मक रहेको बताए।

प्रतिनिधिसभाका सदस्य क्रान्तिशिखा धितालले मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत रुपमा व्यवस्थित गर्न आवश्यक पहल गरिने  बताइन्।

प्रकाशित: १४ श्रावण २०८३ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App