राजनीति

ई-बिडिङमा चलखेल : यस्तो छ पूर्वमन्त्री विक्रम पाण्डेको बयान

केशव अर्याल तथा निजआबद्ध आइएमएस सफ्टवेयर कम्पनी तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको कर्मचारीसँग मेरो कुनै पनि किसिमको चिनजान, पूर्वरिसइबी छैन, केही नराम्रो छैन। पक्राउ प्रतिवादीहरू दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, जीवनकुमार दास, अनिल श्रेष्ठ, सागर कटुवाल, ऋषिकेश गौली, टंककुमार श्रेष्ठ, अमृत बोहोरा, स्वदेश पोखरेल, प्रकाश ढुंगाना र हालसम्म फरार प्रतिवादीहरू राहुलजंग कार्की, नारायणप्रसाद सिटिखु, इन्द्रबहादुर बोहरा, शान्तकुमार श्रेष्ठ, निरञ्जन खनाल, कृष्णबहादुर खत्री समेतसँग मेरो पूर्वचिनजान, लेनदेन, रिसइबी केही छैन।

डाटा हबको क्लाउड सर्भरमा प्रोजेक्ट टेस्टिङका लागि लिइएको भिपिएस सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको सम्बन्धमा मलाई कुनै जानकारी छैन।

म विगत ५० वर्षदेखि निर्माण व्यवसाय क्षेत्रमा काम गर्दै आइरहेको छु। मैले कालिका कन्स्ट्रक्सन प्रालि नामक कम्पनी स्थापना गरी सञ्चालन गर्दै आइरहेका छु।

यस कम्पनीलाई एसियन विकास बैंकजस्ता विभिन्न दातृ संस्थाहरूले समयभन्दा पहिले गुणस्तरयुक्त काम सम्पन्न गरेबापत पटकपटक सम्मानित गरेको छ। यस निर्माणको क्षेत्रमा राम्रो छवि कायम गरेको छु। कम्पनीका सञ्चालकका रूपमा मेरी श्रीमती पार्वती पाण्डेसमेत हुनुहुन्छ। श्रीमती निष्क्रिय हुनुहुन्छ। यस कम्पनीले सरकारी क्षेत्रका भवनहरू, बाटाहरू, पुलबाँधहरू निर्माण गर्ने ठेक्कापट्टाको काम गर्दै आइरहेको छ।

सरकार पक्षबाट कुनै पनि ठेक्का आह्वान भएपश्चात् हाम्रो कम्पनीबाट विभिन्न कर्मचारी ठेक्काको साइटमा जाने, साइट अध्ययन गर्ने, त्यसपश्चात् आ–आफ्नो किसिमले गरेका अध्ययनहरूको मुल्यांकन गर्ने, छलफल गरी अन्तिम निष्कर्षमा पुगेर रेट निर्धारण भएपछि मात्र बिडिङको काम हुन्छ। एक पटक निर्णय भएपछि कसैले रेटमा परिवर्तन गर्न सक्दैन।

कम्पनीमा ठेक्कासम्बन्धी ई–बिडिङ गर्ने छुट्टै टिम छ। उहाँहरूले मेरो प्रत्यक्ष निर्देशनमा रही बिड सबमिसन डेटलाइनभन्दा अगावै बिडिङ प्रक्रिया पूरा गर्नुहुन्छ। सरकारी ठेक्का एएःईको आधिकारिक वेबसाइटमार्फत खुल्ने र सोहीमार्फत आवेदन दिनुपर्ने हुन्छ। सोही क्रममा महेन्द्र राजमार्गस्थित बकैया नदीको पुल निर्माण आइएफबी नं. एसआरसिटिआपी ०८/८१/८२ भएको सरकारी ठेक्का खुलेको अवस्था थियो। त्यसपश्चात् माथि खुलाएबमोजिम मेरो कम्पनीका विभिन्न टिम आ–आफ्नो तरिकाले साइट भिजिट गरी, अध्ययन गरी, आ–आफ्नो किसिमले गरेको अध्ययनहरूको मूल्यांकन गरी, छलफल गरी अन्तिम निष्कर्षमा पुगी उक्त ठेक्काको रेट हाराहारी ६७ करोड रुपैयाँ निर्धारण गरी मेरो प्रत्यक्ष निर्देशनमा कम्पनीका कर्मचारी सुरेन्द्र पाण्डेले गोप्य रूपमा बिडिङ प्रक्रियाको काम गर्नुभएको हो। मलाई याद भएसम्म यस ठेक्कामा कम्पनीका तर्फबाट कुनै छुट दिई बिड मोडिफिकेसन भएको छैन र यो ठेक्का मेरो कम्पनीलाई प्राप्त भएको पनि छैन र ठेक्काको रेट कम गराउँदैमा यो प्राप्त हुने ठेक्का पनि होइन। यो ठेक्का प्राप्त हुने प्रक्रिया अलग्गै वैज्ञानिक तरिका हुने हुँदा किन यस ठेक्कामा मेरो नाम जोडिएको हो, मलाई थाहा छैन। मेरो जानकारीमा भएअनुसार बिड सबमिसन डेटलाइनपश्चात् एएःइको सिस्टम आफैं लक हुनुपर्ने हो।

प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार एएःईको आधिकारिक वेबसाइटमार्फत सोही प्लेटफर्ममा अनलाइन युजर एकाउन्ट क्रिएट गरी विभिन्न ठेक्का आह्वानबमोजिम तोकिएको सर्त पालना गर्ने गरी अनलाईन बोलपत्र वा प्रस्तावअन्तर्गतमा टेक्निकल मुचुल्का, फाइनान्सियल मुचुल्का फाइनान्सियल मूल्यांकन शीर्षकमा दाखिला गरेका विभिन्न गोप्य कागजातसहितका इन्क्रिप्टेड तथ्यांकहरूलाई तोकिएको समयसीमा भन्दा फरक समयावधिमा समेत अनधिकृत रूपमा हेर्न, मेटाउन, हटाउन र फेरबदल गर्न सक्ने समेतको पहुँच पुग्ने गरी भिपिएस सर्भर अर्थात् इजिपी पोर्टलमा मेरो कम्पनीका तर्फबाट भएको ठेक्कामा अनधिकृत पहुँच पुयाएको सम्बन्धमा कुनै जानकारी छैन। के–कसरी मेरो र मेरो कम्पनीको नाम देखिएको हो, म खुलाउनु सक्दिनँ। मलाई लाग्छ, कुनै आपराधिक समूहले म र मेरो कम्पनीको नाम बदनाम गराउन यस्तो गरेको हो। यस विषयमा अनुसन्धान होस्।

प्रकाशित: २८ वैशाख २०८३ ०८:५७ सोमबार