राजनीति

घरमा प्रहरीको छापाप्रति प्रसाईंको आक्रोश : राज्यलाई नियमित कर र हजारौँलाई रोजगारी दिएको छु

फाइल तस्बिर

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो घरमा प्रहरीले छापा मारेको घटनाप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

प्रहरीले विनाजानकारी एक्कासि घरमा प्रवेश गरी मोबाइल, ल्यापटप र अन्य सामग्री लिएको भन्दै उनले आपत्ति जनाए। प्रसाईंले भने, ‘यदि दुर्गा मातामा शक्ति रहेछ भने यिनीहरूले दसैँ देख्न पाउँदैनन् हेर्दै जानुस्। पटक-पटक यिनीहरूले मलाई दुःख दिने काम गरेका छन्।’

आफ्नो घरमा करिब तीन सयको संख्यामा प्रहरी आएर खानतलासी गरेको र कोठाको अवस्था अस्तव्यस्त बनाएको उनको दाबी छ। उनले आफू कुनै पनि लागुऔषध व्यापारी, हतियार तस्कर वा अवैध धन्दामा संलग्न व्यक्ति नभएको स्पष्ट पारे।

आफूले राज्यलाई नियमित रूपमा कर तिर्दै आएको र हजारौँलाई रोजगारी दिएको दाबी उनको छ। प्रहरीले घरमा छापा मार्दा आफ्नो मोबाइल र परिवारका सदस्यहरूको ल्यापटप तथा मोबाइलसमेत लगेको उनको आरोप छ।

आफ्नो घरमा छोरी, नाति र आफन्तहरू आएको बेलामा यस्तो किसिमको हस्तक्षेप हुनु निन्दनीय भएको उनको भनाइ छ। उनले यस घटनालाई प्रायोजित र आफूलाई तर्साउने उद्देश्यले गरिएको बताएका छन्।

देशका विभिन्न स्थानमा नागरिकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेको बेलामा आफूमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजिएको उनले बताए। बिहीबार भक्तपुरस्थित उनको निवासमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आकस्मिक खानतलासी गरेको थियो।

काठमाडौं र ललितपुरमा भइरहेको लघुवित्त प्रभावित तथा सहकारी पीडितहरूको आन्दोलनलाई प्रसाईंले उक्साएको र भड्काउन खोजेको आरोपमा प्रहरीले यो कारबाही अघि बढाएको हो। आन्दोलन थप उग्र बन्न सक्ने आशंकामा विद्युतीय प्रमाणहरू संकलन गर्ने उद्देश्यले प्रहरी उनको घरमा पुगेको थियो।

खानतलासीका क्रममा प्रहरीले प्रसाईं र उनका सहयोगीले प्रयोग गर्दै आएका ६ थान मोबाइल, १ थान ल्यापटप र घरको सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको छ। सरकार र प्रसाईं पक्षबिच मागहरूका बारेमा औपचारिक वार्ता चलिरहकै समयमा प्रहरीले यस्तो कारबाही गरेको हो।

प्रकाशित: ५ भाद्र २०८३ ११:०५ शुक्रबार