राजनीति

फेरि पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन्।

साइबर ब्यूरोबाट खटिएको प्रहरीले सोमबार भक्तपुरस्थित प्रसाईँको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सांसद खतिवडाविरुद्ध प्रसाईँले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ।

प्रसाईँले खतिवडालाई उनका छोरा रसिक खतिवडाको मृत्युसँग जोडेर विवादास्पद टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन्।

घटनापछि खतिवडाको परिवारबाट प्रसाईँविरुद्ध उजुरी परेको बताइएको छ। प्रसाईँका छोरा निराजन प्रसाईँले पनि प्रहरीले पक्राउ पूर्जीसहित आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीका अनुसार जिल्ला अदालतबाट प्रसाईंको नाममा पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो। एसपी गिरीले प्रसाईंलाई विद्युतीय अपराध ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको आरोपमा पक्राउ गरिएको बताए।

‘उहाँले विद्युतीय अपराध ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको हुनाले उहाँलाई नियन्त्रणमा लिइएको छ,’ एसपी गिरीले नागरिकन्युजसँग भने।

उनका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो। प्रसाईंलाई विद्युतीय अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रकाशित: १२ आश्विन २०८३ १२:३७ सोमबार