राजनीति

स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा सभापति लामिछानेलाई हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थानीय तह उम्मेदवार छनोट रूपरेखा मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइएको छ।

पार्टीको सचिवालय बैठकमा पार्टी उम्मेदवार छनोट रुपरेखा निर्माण समितिले सभापति लामिछानेलाई प्रतिवेदन बुझाएको हो। आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने प्रतिवेदनमा उल्लेख छ।  

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रणालीगत बनाउन सात सदस्यीय समिति गठन गरेको थियो। सोही समितिले आइतबार सभापति लामिछानेलाई प्रतिवेदन बुझाएको हो।  

गत वैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार योग्यतामा आधारित उम्मेदवार चयन गर्ने उद्देश्यका साथ सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको थियो।  

प्रकाशित: २० वैशाख २०८३ १५:४७ आइतबार