राजनीति

गगन थापा र सुरेन्द्र सिंहमाथि डा. सिंहको कटाक्ष : दुवैलाई सर्लाही–४ मा स्वागत छ

सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ का रास्वपा सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापा र कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्र सिंहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

छठ पर्व मनाउन थापा आइतबार सर्लाही-४ पुगेका बेला सांसद सिंहले सामाजिक सञ्जालमा लेख्दै ‘रुख चुनाव चिह्न किन्ने र सार्वजनिक वनको रुख काटेर बेच्ने दुइटैलाई सर्लाही-४ मा स्वागत छ’ भनी कटाक्ष गरेका हुन्।

सिंहले कांग्रेस सभापति थापालाई रुख चुनाव चिह्न खरिद गरेको आरोपसँग जोडेर र तत्कालीन जिल्ला सभापति सुरेन्द्र सिंहमाथि सार्वजनिक वनको रुख काटेर बिक्री गरेको विषयलाई व्यङ्ग्यात्मक रूपमा उठाएका हुन्।

सांसद सिंह र कांग्रेस सभापति थापाबीच गत २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-४ मै प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा रास्वपाका सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा कांग्रेस सभापति थापा २२ हजार ८३१ मतसहित १२ हजार ८५७ मतान्तरले पराजित भएका थिए। सोही पराजयसँगै थापाको १८ वर्षे संसदीय यात्रामा विराम लागेको थियो।

सांसद सिंहको ‘रुख चुनाव चिह्न किन्ने’ टिप्पणी भने पछिल्लो समय चर्चामा रहेको इनम सापकोटा प्रकरणसँग जोडिन्छ। प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका सापकोटाले दिएको भनिएको बयान र बाहिरिएको अडियोमा कांग्रेसको आधिकारिकता विवाद मिलाउन थापा नेतृत्वको समूहका लागि १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको दाबी गरिएको विवरण सार्वजनिक भएका थिए।

यता, सभापति थापा र उनीनिकट कांग्रेस नेताहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १६:१७ आइतबार