प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–६ बाट उम्मेदवार बनेका शेखर कोइराला ले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।
नेपाली कांग्रेस का नेता कोइरालाले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरेको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको उल्लेख छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताबमोजिम उनका तर्फबाट निर्वाचन प्रतिनिधि विकास थापाले बिहीबार आयोगमा उक्त खर्च विवरण दर्ता गराएका हुन्।
कोइरालाले बुझाएको विवरणअनुसार चुनावमा सबैभन्दा ठूलो रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखिन्छ। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्पलेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाइमा मात्रै १६ लाख ४६ हजार ६०९ रुपैयाँ १९ पैसा खर्च भएको छ।
त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि १ लाख १३ हजार रुपैयाँ, गाडीको इन्धनमा १ लाख १६ हजार ३१९ रुपैयाँ ५० पैसा र कलम, फाइल, फोटोकपी पेपरलगायतका स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा शुभेच्छुकको खाजा–खानामा ९६ हजार ६६० रुपैयाँ खर्च गरिएको छ। त्यस्तै पार्टी तथा भ्रातृ संस्था परिचालनका लागि यातायाततर्फ ७९ हजार रुपैयाँ, प्रचार कार्यालय सञ्चालनार्थ टेन्ट व्यवस्थापनमा ४० हजार रुपैयाँ र आवश्यक मसलन्द सामग्री खरिदमा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
प्रकाशित: २९ फाल्गुन २०८२ १६:०२ शुक्रबार