राजनीति

डा शशांकले भने: शेखर दाइ कार्यव्यस्तताले नआउनुभएको हो, उहाँको समर्थन छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले आगामी राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिएको छ। भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न १६ वटा विभिन्न तयारी समिति समेत गठन गरिएको नेता मीन विश्वकर्माले बताए।

कार्यक्रममा देउवा समूहका अधिकांश शीर्ष नेताहरूको उपस्थिति रहे पनि पछिल्लो समय सोही समूहसँग नजिक देखिएका नेता डा. शेखर कोइराला भने उपस्थित भएनन्।

उनको अनुपस्थितिबारे सञ्चारकर्मीको जिज्ञासामा डा. शशांक कोइरालाले आफूले पटक–पटक सहभागी हुन आग्रह गरे पनि कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी दिएका बताए।

उनका अनुसार, डा. शेखरले भेलाप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै उपस्थित हुन नसकेकोमा क्षमायाचना गरेका छन्।

शशांकले भने, "शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। उहाँले व्यस्तताका कारण आउन नसक्ने बताउनुभयो। 'मेरो सहमति त छँदै छ, समाचारमार्फत पनि मेरो समर्थन रहेको जानकारी दिनुहोस्। आउन नसकेकोमा क्षमा चाहन्छु,' भनेर उहाँले भन्नुभएको छ।"

प्रकाशित: १६ श्रावण २०८३ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App