राजनीति

डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो बताएकी हुन्। उनले डा. केसीको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको अभियानलाई नजिकबाट चिन्ने र समर्थन गर्ने व्यक्तिहरू नै मन्त्रिपरिषदमा रहँदा पनि यस्तो अवस्था आउनु दुखद भएको बताइन्।

कार्कीले अघिल्लो सत्याग्रहका क्रममा यही सरकारले गरेका सहमति कार्यान्वयन किन नभएको भन्दै प्रश्नसमेत गरेकी छन्।

'डा. गोबिन्द केसीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको एजेण्डालाई नजिकबाट चिन्ने र अभियानको समर्थन गर्नेहरू नै क्याबिनेटमा हुँदा पनि ६ महिनामा डा केसीले दुई पटक अनसन बस्नुपर्ने अवस्था आइसक्नु राम्रो सन्देश होइन,' उनले भनेकी छन्, 'यही सरकारले अघिल्लो सत्याग्रहमा गरेका सहमति पनि कार्यन्वयन किन भइरहेको छैन भन्ने प्रश्न पेचिलो छ।'

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले रगतमा चिनीको मात्रा र रक्तचाप घटेको तथा मुटु र मांसपेशी दुख्ने समस्या देखिएको स्वास्थ्य सतर्कता प्राप्त हुँदा आफू दुःखी भएको बताएकी छन्।

उनले भनिन्, 'स्वास्थ्य स्थिति गम्भीर हुँदैछ, रगतमा सुगरको मात्रा घट्यो, बीपी घट्यो, मुटु दुख्ने, मांसपेशी दुख्ने स्थिति आइसक्यो भन्ने हेल्थ अलर्ट आउँदा जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला।'

कार्कीले तत्काल वार्ता गरेर सहमति गर्न र विगतका सहमति कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेकी छन्।

भविष्यमा यस्ता परिस्थिति आउन नदिन समयमै समस्या पहिचान गर्ने, छलफल गर्ने र आवश्यक समन्वय गर्नुपर्ने उनको भनाइ छ।

उनले सत्य र निष्ठाको धरोहरका रूपमा रहेको डा. केसीले पटक-पटक अनसन बसेर आफ्नो इमानको परीक्षा दिनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित: १६ कार्तिक २०८३ ०८:४९ सोमबार