राजनीति

रविको रिहाइपत्रबारे डीपीको दाबी: ‘पत्र फेक होइन, हतारमा गडबड भएको हुनसक्छ ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणमा प्रयोग भएको पत्र ‘फेक’ नभएको, तर हतार र असावधानीका कारण त्यसमा केही त्रुटि हुन गएको दाबी गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत एक बयान जारी गर्दै अर्यालले रिहाइ प्रक्रियाको सम्पूर्ण समन्वय आफूले गरेको र यसमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको दाबी गरे।

‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म हुँ। पत्र बुझ्ने म हुँ,’ उनले लेखेका छन्, ‘पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छन्। यस्ता पत्रहरू कम्प्युटरमा भएकै व्यहोरामा टाइप गरिने भएको हुँदा अघिल्लो पत्रका विवरणहरू डिलिट नभएका होलान्।’

उनले रिहाइ प्रक्रियाको संवेदनशीलता उल्लेख गर्दै परिस्थिति निकै गम्भीर रहेको सुनाए। ‘१० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने पनि हुन सक्थ्यो,’ उनले भने, ‘समयमा सभापतिज्यूलाई ननिकालिएको भए धेरै मानिसहरूको समेत क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ।’

सभापति लामिछाने भागेको नभई सुरक्षा निकायसँगको निरन्तर समन्वयमा रहेको अर्यालले स्पष्ट पारे। उनका अनुसार, लामिछाने शुक्रबार पुनः कारागार जान तयार थिए, तर कारागारमा भएको क्षति र सुरक्षा चुनौतीका कारण आफूले नै रोकेको उनले बताए।

‘आज पनि पार्टी सभापति कारागार आउन निस्कनुभयो तर मैले पहिला सिडिओ र जेलरसँग समन्वय गरेर कारागारको अवस्था बुझ्छु भनेँ,’ अर्यालले लेखेका छन्।

उनले सम्पूर्ण समन्वयको जिम्मेवारी आफूले लिने र बदनाम नगर्न आग्रह गरे। ‘मुलुकको अवस्था जटिल छ, त्य्यता ध्यान दिनुस्, व्यक्तिको बदनामीमा नलाग्नुस्,’ उनले अपिल गरे।

प्रकाशित: २७ भाद्र २०८२ २०:२४ शुक्रबार