राजनीति

विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले बाढीबाट भएको जनधनको क्षतिको खबरले आफू अत्यन्तै दुःखी भएको बताउँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सहयोग आवश्यक रहेको उल्लेख गरेकी हुन्। 

ढुंगेलले विपत्तिलाई केवल समाचारका रूपमा हेरेर बस्ने समय नभएको भन्दै सबै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई तत्काल उद्धार र राहतका लागि एकजुट हुन अपिल गरेकी छन्। 

उनले आफूले सकेको सहयोग गर्न आग्रह गर्दै उद्धारमा समय दिन, राहत सामग्री उपलब्ध गराउन, यातायातको व्यवस्था गर्न तथा स्वास्थ्य सेवामा सहयोग गर्न सबैलाई आह्वान गरेकी छन्। ‘सानो देखिने हाम्रो एउटा सहयोग कसैको जीवन बचाउने कारण बन्न सक्छ,’ उनले भनेकी छन्। 

प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि उनले अनुरोध गरेकी छन्। ‘बाढीले भूगोल छुट्याउन सक्छ, तर हाम्रो मानवता छुट्याउन सक्दैन,’ डंगोलले भनेकी छन्।

प्रकाशित: ११ भाद्र २०८३ १२:३१ बिहीबार