धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अभियानमा आबद्ध समर्थकहरूलाई कुनै पनि राजनीतिक दलका सदस्यलाई शत्रुको रूपमा नहेर्न आग्रह गरेका छन्।
उनले विचार नमिल्दैमा कसैलाई पराई वा शत्रु ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै आज कुरा नबुझ्नेहरूले भोलि अवश्य बुझ्ने बताए।
सोमबार काठमाडौंमा आयोजित ‘हर्क साम्पाङ अ रिभोलुसन’ को भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संगठनमा आबद्ध कोही कसैले कुनै दलको मान्छेलाई पराईको मान्छे, शत्रु मान्छे भनेर नभन्नुहोला। उहाँले आज कुरा बुझ्नुभएको छैन, भोलि बुझेर तपाईंसँगै श्रम गर्न आउनुहुनेछ।’
उनले देश बनाउन सबैजना मिल्नुको विकल्प नभएको बताए। ‘नेपाली समय’ जस्ता नकारात्मक भाष्यलाई त्यागेर देशप्रति माया र सम्मान बढाउनुपर्नेमा उनले जोड दिए।
‘मिलेर बसौँ, देशलाई माया गरौँ। यो देश हाम्रो हो,’ उनले भने, ‘यहाँ केही पनि छैन, यस्तै हो नेपाली, नेपाली समय हो भन्ने किसिमले नेपाललाई हेला र होचो भनेर सोच्ने, बोल्ने र अभिव्यक्ति दिने मनोविज्ञानलाई हामीले अन्त्य गर्नुपर्छ।’
आफ्नो १० वर्षे संघर्षको अनुभव सुनाउँदै उनले सुरुमा धरानमा आफूलाई धेरैले तिरस्कार गरेको तर निरन्तरको प्रयासपछि जनताले विश्वास गरेको स्मरण गरे। उनले भने, ‘धरानले मलाई चिन्न १० वर्ष लाग्यो। सुरुमा त मलाई एकदम तिरस्कार गरेकै हुन्।’
मेयर साम्पाङले श्रमको सम्मान हुनुपर्ने बताए। उनले आफूलाई एउटा श्रमिकको रूपमा चिनाए। उनले आफ्नो दैनिकीबारे बोल्दै भने, ‘मलाई त घरी-घरी हाँसो उठ्ने कुरा भन्न मन लाग्छ, काम गर्दागर्दै बेहोस भइहाल्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ। श्रमदानमा जान्छु, खाना पनि खाँदिनँ।’
उनले आफ्नो संगठनमा पद, प्रतिष्ठा र अहंकारलाई कुनै स्थान नहुने स्पष्ट पारे। ‘म यस्तो, म त्यस्तो, म यति जान्ने बुझ्ने नभनौँ कोही कसैले,’ उनले भने, ‘हामी सबैजना एउटै हो।’
उनले पत्रकार, प्रहरी, कर्मचारी, न्यायाधीश र अख्तियार जस्ता राज्यका निकायहरू कुनै पनि पार्टीको नभई देशको हुनुपर्नेमा जोड दिए।
‘पत्रकार पार्टीको हुनुहुँदैन, हामी हाम्रो संगठनमा तपाईंहरूलाई बोलाउँदैनौँ। प्रहरी, कर्मचारी पार्टीको हुनुहुँदैन। न्यायाधीश पार्टीको हुनुहुँदैन। अख्तियार पार्टीको हुनुहुँदैन,’ उनले भने, ‘तपाईं राज्यको हो, देशको हो। देश रहेसम्म पत्रकारिता रहन्छ।’
उनले न्याय भनेको निष्पक्षता भएको बताउँदै पत्रकारहरूले सधैँ निष्पक्षताको पक्षमा उभिनुपर्ने धारणा राखे।
प्रकाशित: १६ भाद्र २०८२ १६:५५ सोमबार