राजनीति

कर्णालीमा पुरानै दलको वर्चस्व

देशभर प्रतिनिधिसभा निर्वाचनमा नयाँ दल रास्वपाले विजयी हुँदा कर्णालीमा भने पुरानै दलका उम्मेदवारलाई जिताएका छन्। १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरू धेरै विजयी भए। जसमा कांग्रेस ५ र नेकपा ४ स्थानमा रहेको छ। एमाले, राप्रपा र रास्वपा १-१ स्थानमा जित निकालेका छन्।

यो नतिजाले कर्णालीको राजनीतिक सन्तुलनलाई पुनः पुरानै दलतर्फ फर्काएको संकेत दिएको छ। कर्णालीमा बलियो संगठन रहेको दाबी गर्दै आएको नेकपा (एमाले) भने अपेक्षित नतिजा ल्याउन नसकेर एक सिटमा सीमित भयो। सुर्खेत–२ मा भने रास्वपाले खाता खोलेर कर्णालीमा जित निकालेको छ। दैलेख १ र २, सल्यान, जाजरकोटमा रास्वपा पराजित भए पनि मत भने सम्मानजनक रूपमा ल्याएको छ।

यस निर्वाचनमा कांग्रेसले जितेको पाँच सिटमा दैलेख–१, जाजरकोट, हुम्ला, मुगु, र सुर्खेत–१ रहेको छ। हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्ग शाही, दैलेख–१ बाट वासना थापा, जाजरकोटबाट खडकबहादुर बीसी र सुर्खेत–१ बाट विष्णुबहादुर खड्का निर्वाचित भए। नेकपाले जितेको चार सिटमा सल्यान, रुकुम पश्चिम, कालीकोट र डोल्पा रहेका छन्। जसमा डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही, रुकुम पश्चिमबाट गोपाल शर्मा र सल्यानबाट रमेश मल्ल निर्वाचित भए। त्यस्तै एक-एक क्षेत्र जितका एमाले, राप्रपा र रास्वपामा एमाले दैलेख –२ बाट लक्ष्मीप्रसाद पोखरले, राप्रपा जुम्लाबाट ज्ञानबहादुर शाही र रास्वपा सुर्खेत–२ बाट रमेश कुमार सापकोटा रहेका छन्। 

यस पटकको नतिजाले कर्णालीमा पुराना दलको प्रभाव अझै कायम रहेको देखाएको छ। कांग्रेस र नेकपाले अधिकांश सिट जित्नुले कर्णालीमा परम्परागत राजनीतिक आधार अझै बलियो रहेको संकेत गरेको छ। विशेषगरी कर्णालीलाई लामो समयदेखि पूर्वमाओवादी प्रभाव क्षेत्र मानिँदै आएको छ। त्यसको प्रभाव यस पटक पनि देखिएको छ। नेकपाबाट विजयी भएका धेरैजसो नेता पूर्वमाओवादी पृष्ठभूमिका छन्।

२०७९ सालको निर्वाचनमा कर्णालीमा शून्य भएको एमालेले यस पटक कम्तीमा पाँच सिट जित्ने लक्ष्य राखेको थियो। संगठन सुदृढीकरण र आन्तरिक तयारीका कारण एमालेले कर्णालीमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको थियो। तर, परिणाम भने त्यसको विपरीत आयो। दैलेख–२ मा मात्र जित निकाल्न सकेपछि एमाले कर्णालीमा कमजोर बनेको विश्लेषण गरिएको छ।

कर्णालीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि आफ्नो उपस्थिति देखाएका छन्। सुर्खेत–२ मा रास्वपाको जित र जुम्लामा राप्रपाको सफलता कर्णालीमा नयाँ राजनीतिक शक्तिहरू बिस्तारै स्थापित हुन थालेको संकेत मानिएको छ।

समग्रमा कर्णालीको निर्वाचन परिणामले तीनवटा सन्देश दिएको विश्लेषकहरू बताउँछन्। पहिलो, कांग्रेस अझै पनि कर्णालीमा संगठित रूपमा बलियो रहेको छ। दोस्रो, पूर्वमाओवादी आधार क्षेत्र अझै कायम रहेको देखिएको छ। तेस्रो, एमालेले अपेक्षित नतिजा नल्याउँदा कर्णालीमा आफ्नो राजनीतिक रणनीति पुनः समीक्षा गर्नुपर्ने अवस्था आएको छ। कर्णालीमा नयाँ शक्तिको प्रवेशले आगामी दिनमा प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ १०:११ मंगलबार