राजनीति

जिल्ला सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले त्यागे रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन्। उनी ०७९ को निर्वाचनमा बारा-४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिए ।  

चौधरीले २०७९ साल श्रावण ७ गतेदेखि पार्टीमा आवद्ध भई आफ्नो योग्यता, क्षमता, दक्षता र समय निस्वार्थ रूपमा समर्पण गर्दै आएको उल्लेख गरेका छन्। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भएर रास्वपामा सक्रिय भएको उनले बताएका छन्।  

आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उनको भनाइ छ।  

उनले संगठनमा दिनरात खटिएका सक्षम कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत गतिविधिहरू भएको तथा पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन्। साथै, आर्थिक अनियमितताबाट प्रेरित निर्णयहरूले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुर्‍याएको उल्लेख गरेका छन्।

यी सबै परिस्थितिका कारण मौन बस्न नसक्ने निष्कर्षमा पुगेको बताउँदै चौधरीले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा पेश गरेको जनाएका छन्।  

राजीनामाको अन्त्यमा उनले पार्टीले अहिलेसम्म दिएको अभिभावकत्व, सहकार्य र अवसरप्रति हार्दिक आभार व्यक्त गरेका छन्। 

प्रकाशित: ८ फाल्गुन २०८२ १८:२९ शुक्रबार